News and Updates

दुग्ध उत्पादन कृषि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ प्रतिशत छ । लाखौ किसानहरु दुग्ध व्यवसायमा संलग्न छन भने हजारौले रोजगार पाएका छन् । कृषि उत्पादनको रुपमा नेपालमा हाल करिब ५५ लाख ६६ हजार ६१४ मेट्रिक टन (कृषि तथा पशुपंक्षी डायरी, २०८०) दूध उत्पादन हुने र त्यसको ठुलो अंश औपचारिक क्षेत्रमा नआइ अनौपचारिक रुपमै खपत हुने गरेको अनुमान छ ।
कृषिको योगदानमा दुध क्षेत्रको मात्रै करिब ९ देखि १० प्रतिशतसम्म योगदान रहँदै आएको तथ्य प्राप्त गर्न सकिन्छ । डेरी उद्योगमा मात्र करिब ३५ देखि ४० हजारसम्म प्रत्यक्ष रोजगारी रहेको र दुग्ध उत्पादन किसान र उनीहरुका फर्ममा करिब ५ देखि ७ लाख रोजगार रहेको अनुमान छ । अनौपचारिक रोजगारीमा समेत यस क्षेत्रले धेरै योगदान गरेको पाइन्छ ।
थाक्रे गाउँपालिका वडा नं ९ का गणेशमान डंगोल र वडा नं ८ का राजन लामिछानेले लामो समयदेखि दुग्ध व्यवसाय गर्दै आएका छन् । थाक्रे गाउँपालिकामा यस व्यवसायमा संलग्न अन्य किसानहरु पनि छन् । एउटा डेरीले करीब ५०/६० जनालाई रोजगारी दिएको छ । उनीहरुको नियमित आम्दानीको स्रोत बनाइदिएको छ । डेरीहरुले दुध प्रशोधन गरी पनिर उत्पादन गरिरहेका छन् । पाँच छ वटा डेरीबाट लगभग ४०० देखि ५०० किसानहरु लाभान्वित छन् ।
किसानहरुको दुध विक्री गर्ने केन्द्रको रुपमा यी डेरीहरु स्थापित भएका छन् । निकै मेहनतका साथ दुध प्रशोधन गरी पनिर बनाउछन र स्थानीय बजार काठमाडौँमा सप्लाई गर्छन । उनीहरुको व्यवसायमा आधुनिक प्रविधिहरुलाई जोड दिन सकियो भने थोरै लागतमा उत्पादन गर्न सक्छन र बजारसंग प्रतिस्पर्धा गर्न सक्छन ।
दुध तताउन दाउराको प्रयोग गरिरहेका छन् यसको बदलामा दुध तताउने,क्रिम निकाल्ने, फ्याट नाप्ने विद्युतीय मेशिनलगायत प्रशोधनका सामग्रीहरुको सहयोग पाउन सके भने धुँवाबाट बचेर सहज तरिकाबाट दुध प्रशोधन गर्न सक्छन । तर उनीहरुको उद्यममा राज्यको आँखा पर्न सकेको छैन । राज्यबाट कुनै किसिमको सहुलियत पाउन सकेका छैनन् ।
थाक्रे गाउँपालिका वडा नं ८ का राजन लामिछानेले विगत सात वर्षदेखि लामिछाने गाई तथा दुध डेरी संस्था स्थापना गरी दुग्ध व्यवसाय गर्दै आएका छन् । राजनले १३ वटा गाई र भैँसी पालेका छन् । पशु बिमा आफैले गरेका छन् । संकलन भएको दुध विक्री नगरी सबै दुधको पनिर बनाएर विक्री गर्छन । अहिले प्रतिकेजी ६०० का दरले पनिर विक्री गरिरहेका छन् । राजनले कही कतैबाट सहयोग पाएका छैनन् । कटिङ मेशिन, दुध तताउने भाडो आवश्यक छ । दुधको फ्याट निकाल्ने मेशिनलाई एकदेखि डेड लाख रुपैंयाँ पर्छ । उक्त मेशिन बिग्रदा लाख रुपैंयाँ घाटा लाग्ने बताए । राज्यले यस्ता मेशिनहरु खरिद गर्न सहयोग गरेमा निकै राहत हुने बताए । वडा, पालिकातिर केही सहुलियत व्यवस्था भए, तालिम कार्यक्रमहरु भए सहभागी गराउनुहोला भनी निर्वाचित प्रतिनिधिहरुलाई भनेका छन् तर निर्वाचित प्रतिनिधिहरुले त्यति चासो नलिने गरेको बताए । केही सहयोग मिल्छ की भनी पहिला पहिला पालिका, जिल्लातिर गएर धेरै कोसिस गरे तर सहयोग पाउन सकेनन् अहिले कहिकतै जान छाड्दििएको बताए । सहयोग गर्ने कोही कुनै निकाय नभएको कारण आफ्नै पौरखले व्यवसाय धान्दै आएको बताए । आफ्नो व्यवसायमा केही राहत मिल्यो भने किसानलाई पनि राहत दिन सकिने र गाईवस्तुलाई आवश्यक पर्ने क्याल्सियम लगायतका औषधिहरु पाउन सकियो भने किसानलाई उपलब्ध गराउन सकिने उनले बताए ।
त्यस्तै अर्का व्यवसायी थाक्रे गाउँपालिका वडा नं ९ पण्डित पौवाका गणेशमान डंगोलले डंगोल कृषि फर्ममार्फत विगत चार वर्षदेखि सुवर्ण दुध डेरी सञ्चालन गर्दै आएका छन् । उनको डेरीमा पौष माघमा दैनिक पाँचछ सय लिटर दुध संकलन हुन्छ भने अहिले तीनचार सय लिटर दुध संकलन गरेर दुध, दही, घिउ पनिर विक्री गर्दै आएका छन् । उनले डीडीसीमा दुध विक्री गर्दै आएका छन् तर दुध, पनिरको निश्चित मूल्य नहुँदा, मनोमानी मुल्यमा दुध विक्री गर्नुपरेको, विक्री गरेको दुधको रकम पनि ढिला भुक्तानी हुने हुँदा डेरी चलाउन पनी मुश्किल परिरहेको बताए । दुध व्यवसायीहरुले सस्तो मुल्यमा विक्री गर्नुपर्ने विचमा विचौलियाहरुले फाइदा लिने तर उपभोक्ताहरुले बढी मूल्य तिरेर खरिद गनुपर्ने अवस्था रहेको बताए ।
दुध प्रशोधन गर्न, पनिर बनाउन नयाँ नयाँ विद्युतीय प्रविधिहरु आएका छन् ति प्रविधिहरुलाई व्यवसायमा भित्र्याउन सकेका छैनन् । कहि कतैबाट सहुलियत मिल्न सकेमा आधुनिक उपकरणमार्फत सहज तरिकाबाट व्यवसाय अगाडि बढाउन सकिने बताएका छन् । स्थानीय सरकारले प्रत्येक दुध किसानलाई राहत उपलब्ध गराउने भनेता पनि कुरा मात्र गरेको तर कार्यान्वयन नगरेको, दुग्ध व्यवसायप्रति चासो नदेखाएको उनले बताए ।
थाक्रेका सामाजिक विकासका अभियन्ता गोकर्ण रुपाखेतीका अनुसार ‘स्थानीय प्रविधिद्धारा संकटपूर्ण ढंगबाट दुध प्रशोधन गरिरहेका ति उद्यमीहरुलाई सरकारको तर्फबाट प्रविधिसंग जोड दिने र प्रशोधनका लागि आवश्यक सामग्रीहरुको प्रबन्ध गराउन सके उनीहरुले दुध धेरै संकलन गर्न सक्छन् । छिटो छरितो ढंगबाट प्रशोधन गर्न सक्छन । बजारसंग प्रतिस्पर्धा गर्न सक्ने र त्यसबाट अझ धेरै किसानहरुले लाभ लिन सक्ने बताए । एक जना किसानले दिनमा चारपाच सय देखि हजारसम्म लाभ लिन सकिरहेको अवस्थामा दुग्ध व्यवसायको प्रवद्र्धन र बजारीकरणको लागि राज्यको ध्यान पुग्न पर्ने बताए ।
पशु खाद्य महंगो हुँदा गाइभैसीलाई खुवाउने दाना, भुष, घाँस आदीको मूल्य दिनानुदिन वढिरहेको छ । यसले उत्पादन लागत वढाउँछ । स्वास्थ्य सेवा र प्राविधिक सहयोगको कमीको कारण पशु चिकित्सक, बीमा सुविधा र समयमै उपचार नपाउँदा पशु मर्ने वा बिरामी हुने सम्भावना वढी हुन्छ । सरकारले दुग्ध व्यवसायलाई त्यति प्राथमिकतामा राखेको देखिदैन जसले गर्दा अनुदान, बिमा, तालिम आदि पर्याप्त रुपमा पुग्न सकेको छैन् । भण्डारण र प्रशोधन सुविधाको अभाव छ । ग्रामिण क्षेत्रमा चिस्यान केन्द्र, प्रशोधन प्लान्ट जस्ता पूर्वाधार निर्माण हुन सकेका छैनन् । यी विविध कारण दुध उत्पादन गर्ने किसानहरुले समस्या भोगिरहेका छन् ।
मानव जीवनका लागि दुध महत्वपूर्ण पदार्थ हो । दुधबाट शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइड्रेट, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । दुध शरीरको लागि अत्यन्त लाभदायी पोषक पदार्थ हो । दुग्ध उत्पादन, वितरण र मूल्य स्थिरतामा देखिएका चुनौतीहरु जसलाई राज्यले सम्बोधन गर्न आवश्यक छ । अर्कोतर्फ पशुपालनका कारणले प्राङगारीक मल उत्पादन र प्रयोगबाट व्यवसायिक तरकारी खेती, खाद्यन्न उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने भएकोले सरकारले यस्ता उद्यमीहरुलाई प्रोत्साहन गर्नु आवश्यक छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया