Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रामेछापमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको माग

News and Updates
1 हप्ता अघि

रामेछाप । नेपालका ११ वटाभन्दा बढी कम्युनिष्ट पार्टीका नेताहरूले रामेछापमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय स्थापनाको माग गरेका छन् ।

पुष्पलाल जन्मशताब्दी–कृष्णलाल बलिदान शताब्दी समारोह समिति २०८०–२०८१ र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले चैत २३–२५ सम्म रामेछापको कठजोर, भँगेरी, मन्थली र मदौ सिर्जनानगरमा आयोजना गरेको बृहत् भेला र बिचार गोष्ठीले पुष्पलाल माक्र्सवादी विश्वविद्यालय र कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक सहिद घोषणा गर्दै राज्यको तर्फबाट त्यसको कार्यान्वयन हुनु पर्ने माग गरेका छन् ।

भेलामा नेपालका नेल्सन मण्डेला उपनामले चिनिएका ८८ वर्षीय कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारी, ८७ वर्षीय कम्युनिष्ट नेता ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, समाजवादी कम्युनिस्ट पार्टीका महासचिव पूर्णबहादुर सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नारायण शर्मा, नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य पेशल खतिवडा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, ज्येष्ठ नागरिक समाजका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता मोहनबहादुर केसी, जनयुद्धका सहिद आयामकी जीवनसँगिनी सरला रेग्मी, एकीकृत जनक्रान्तिका सहिद कुमार पौडेलकी दिदी लक्ष्मी पौडेल, नेकपा १५ सेप्टेम्बर १९४९ का पोलिटब्युरो सदस्य योगेन्द्र पराजुली लगायत ११ वटा वामपन्थी, कम्युनिस्ट, जनतान्त्रिक पार्टीका प्रमुख र प्रतिनिधिको उपस्थितिमा कठजोर, मन्थली, भँगेरी र सिर्जनानगरमा आयोजित भेलाले यस्तो निर्णय गरेको हो ।

भेलाले विभिन्न कम्युनिष्ट घटक, नागरिक समाज, साहित्यकार, पत्रकार, सर्वसाधारणसहित सहभागी भएर गरिएको पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको अवधारणा सरकारसमक्ष प्रस्तुत गरी कार्यान्वयन गर्न दबाब दिने, कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक सहिद घोषणा गर्ने वातावरण निर्माण गर्ने, हाललाई नागरिक र कम्युनिस्ट पार्टी स्तरबाट रामेछाप सिर्जनानगरमा स्थापित हित–जून युद्ध–कला सङ्ग्रहालय भवनमा माक्र्सवादी विश्वविद्यालय सञ्चालन÷अभ्यास गर्ने लगायत निर्णय गरेको जानकारी आयोजक समितिका अध्यक्षसमेत रहेका उक्त प्रस्तावका प्रस्तावक अशोक सुवेदीले दिए ।

भेलामा सहभागी अभियानकर्मीले चैत २३ गते कृष्णलाल जन्मस्थल कठजोर र २४ गते बिहान गङ्गालाल–पुष्पलाल जन्मस्थल भँगेरीमा उपस्थित भई तीनलालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने २४ गते मन्थलीमा ‘नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल–गङ्गालाल–पुष्पलालका योगदानहरू’ विषयमा बृहत् विचारगोष्ठी आयोजना गरी पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको अवधारणा पारित गरिएको जानकारी आयोजक संस्थाले दिएको छ ।

भेलामा अखिल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता मुकुन्द आचार्य, समाजवादी कम्युनिस्ट पार्टी नेपाल स्थायी समितिका सदस्यहरू माधव गौतम, विनोद थापा, पोलिटब्युरो सदस्यहरू हीरामणि रावल, रमण घिमिरे, केन्द्रीय सदस्यहरू सीता गौतम, अर्जन वली, परिवर्तनकारी युवा समूहका सुदीप आचार्य, साहित्यकार रसुवाली कवि, कमल सुवेदी, कलाकार घनश्याम एन्टिना, ज्योतिकिरण रिजाल, बालकुमारी खनाल अधिकारी, नेकपा १५ सेप्टेम्बरका नेता रामदुलार महतो, जर्बुट्टा कलाकार विश्वम्भर लामिछाने, जनयुद्धकी महिला नेत्री सुधा रेग्मी, नेपाल कम्युनिस्ट पार्टीकी नेत्री सीता सुवेदी, बद्रीनाथ अधिकारी, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, एमाले नेता एवम् प्रदेश सांसद आनन्द श्रेष्ठ, होतराज ढकाल, सामाजिक अभियन्ता प्रदीप श्रेष्ठ, ध्रुव श्रेष्ठ, मन्थली र रामेछाप नगरपालिकाका वडा सदस्यहरू र स्थानीयको उपस्थिति थियो ।

कार्यक्रममा मोहनचन्द्र अधिकारी, ईश्वरी दाहाल, मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे रोहित, विजयलाल श्रेष्ठ, मानध्वज श्रेष्ठ रिम, हिरण्यलाल श्रेष्ठ, मोहन वैद्य किरणलगायत ८ जना कम्युनिस्ट नेता र सहिद परिवारका सरला रेग्मी, लक्ष्मी पौडेल र कमला बस्नेतलाई अभिनन्दन र सम्मान गरिएको थियो ।

मन्थली नगरपालिकाको सभाकक्षमा चैत २४ गते अभियन्ता अशोक सुवेदीले प्रस्तुत गरेको नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल–गङ्गालाल–पुष्पलालका योगदानहरू विषयक कार्यपत्र र पुष्पलाल माक्र्सवादी विश्वविद्यालय र कृष्णलाल प्रथम साहित्यिक सहिद विषयक अवधारणापत्रमाथि राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले र विमल फुयाँलले प्रस्तुत गरेको नेपालको शिक्षा र संस्कृतिका क्षेत्रमा पुष्पलालको योगदान विषयमा मुकुन्द आचार्यले टिप्पणी गरेका थिए ।

माक्र्सवादी विश्वविद्यालयको प्रस्थापना र प्रथम सहिद घोषणासम्बन्धी प्रस्तावमा मोहनचन्द्र अधिकारी, एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेकपा मालेका महासचिव सिपी मैनाली, असारे काका, पूर्णबहादुर सिंह, नारायण शर्मा, लोककृष्ण भट्टराई, सरला रेग्मी, पेशल खतिवडा, मोहनबहादुर केसी, योगेन्द्र पराजुलीलगायत ११ वटै कम्युनिस्ट पार्टीका नेताले समर्थन गर्दै यसको कार्यान्वयनका लागि सरकारसमक्ष सामूहिक रूपमा माग राख्ने बताएका थिए ।

२५ गते सिर्जनानगरमा मुक्ति सेनाका योद्धा एवम् कवि हितप्रसाद उपाध्यायको १ सय २ औँ जन्मजयन्ती तथा ४३ औँ स्मृति दिवस र सामाजिक अभियन्ता जूनमाया सुवेदीको ८७ औँ जन्मजयन्ती तथा १२ औँ स्मृति दिवसका अवसरमा आयोजित सांस्कृतिक÷वैचारिक कार्यक्रममा असल बुहारी गीता भुजेल, बालप्रतिभा प्रतीक विक, प्रतियोगितामा विजयी कविहरूलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा सुधा रेग्मी, माधव गौतम, रसुवाली कवि, योगेन्द्र पराजुली, कमल सुवेदी, एन्टिना घनश्यामले कविता र प्रहसन प्रस्तुत गरेका थिए ।

कम्युनिस्ट पार्टीका नेताहरूले २४ र २५ गते बिहान आयोजित प्रभातफेरी र श्रमकार्यमा सहभागी भई जनताको खेतमा मकै गोडेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया