Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक

News and Updates
6 घण्टा अघि

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘भूठान’को ट्रेलर सार्वजनिक गरेको हो ।

तीन मिनेट लामो ट्रेलरमा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा देख्न सकिन्छ । ट्रेलरमा वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको देखाइएको छ ।

पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’ले भन्ने संकेत ट्रेलरले गरेको छ । चलचित्र वैशाख १२ गते रिलिज हुँदैछ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।

कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया