Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

News and Updates
5 घण्टा अघि

सिरहा, १० वैशाख । जिल्लाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ । दक्षिणतर्फ पर्ने हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा झण्डै चार सय बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् ।
गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि यहाँ कलधारा निर्माण गरिएपछि एउटा कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति मिलेको छ । बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा हालसम्म ४८ वटा कलधारा उपलब्ध गराइएको हो ।
“दुई महिना अघिसम्म यहाँका स्थानीय खानेपानीका लागि एउटा कुवामा निर्भर थिए । कुवाको पानी पिउने, हातमुख धुने, नुहाउने, भाँडा माझ्नेलगायत काममा प्रयोग हुन्थ्यो”, स्थानीय अधनियादेवी सदायले भने । अहिले कलधारा निर्माण भएपछि पानीको समस्या समाधान भएको उनको भनाइ छ ।
“हातमुख धुन, घरायसी प्रयोजनका लागि आवश्यक पर्ने पानी भर्न बिहानैदेखि लाइनमा बस्नुपथ्र्यो । पानीका लागि निकै दुःख र हैरानी बेहोर्नुपरेको थियो”, विगतलाई स्मरण गर्दै सदायले भने, “अहिले बस्तीमा १० वटा कलधारा बनाइएको छ । खानेपानीको समस्या समाधान गरेकामा उनीहरूलाई धन्यवाद ।”
यो कलधारा झण्डै दुई महिनाअघि संस्था र पालिकाले दिएको स्थानीय अमरिकाकुमारी सदायले बताए। उनले भने, “त्यसअघि बस्तीमा रहेको कुवाबाट फोहर पानी आउथ्यो । फोहर नै भएपनि पिउनुपर्ने बाध्यता थियो । अहिले जडान गरिएको ट्युबवेलमा भने सफा पानी आइरहेको छ ।” यसअघि एउटा मात्र कुवा हुँदा नुहाउन बढी समस्या हुने गरेको अनुभव उनले सुनाए ।
यस्तै समस्या थियो बरियारपट्टीको वडा नं २ स्थित खोक्सीको दलित बस्तीमा । चालिस परिवार रहेको उक्त बस्तीमा अहिले दुई वटा कलधारा जडान गरिएको बस्तीकी फूलकुमारी पासवानले जानकारी दिए । उनका अनुसार अन्य केही कलधारा निर्माणको क्रममा छन् ।
त्यसैगरी वडा नं १ स्थित नर्गीमा रहेको दलित बस्तीमा छ वटा कलधारा निर्माण गरिएको छ । गर्मीको समयमा पानीको प्रयोग गर्न सहज भएको स्थानीय बताउँछन् ।
यहाँका दलित बस्तीमा पानीको चरम अभाव देखेपछि एकीकृत जीविकोपार्जन सुधार परियोजनाअन्तर्गत कलधारा उपलब्ध गराइएको दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक  लालुप्रसाद पोखरेलले बताए । उनले भने, “यत्रो बस्तीका मानिसहरू एउटै कुवाको पानीमा निर्भर रहनुपरेको बाध्यता थाहा पाएपछि हामीले उहाँहरूलाई सहयोग गरेका हौँ । योसँगै हामीले उहाँहरूको जीविकोपार्जनका लागि अन्य सहयोगहरू पनि गरेका छौँ ।”
संयोजक पोखरेलका अनुसार बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा ४८ वटा कलधारा उपलब्ध गराइएको छ । उक्त कलधाराको रु ३० देखि रु ६० हजारसम्म लागत रहेको उनको भनाइ छ ।
संयोजक पोखरेलले परियोजनाअन्तर्गत दलित र सीमान्तकृत समुदायको जीविकोपार्जन, आम्दानी तथा उत्पादनमा वृद्धि, सरसफाइ, स्वच्छता र खाद्य व्यवहार सुधार तथा सामुदायिक समूहको सशक्तीकरणका लागि भूमिका निर्वाह गरिरहेको जानकारी दिए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले विभिन्न संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया