News and Updates

बाउबाजेका पालामा दरबार बाहिर मान्छेहरु कुर्ने गर्थे । कतिबेला बार्दलीमा को आए, को–को आएका थिए भनेर हेर्ने गरिन्थ्यो । आजपनि राजनीतिको विकसित अवस्था त्यही छ । अझैपनि सामन्तवादी प्रथा कायम छ । हामीले हाम्रा नेताहरु सजिलै भेट्न पाउँदैनौं । हाम्रो कुरा सुनिदैनन् । अनि लोकतन्त्रको संस्थागत विकास कसरी हुन्छ ?
तीर्थ थापा
म २०३६ सालदेखि नै लोकतन्त्रका लागि राजनीतिमा लागेको व्यक्ति हुँ । ०२७ सालमा लमजुङ हाइ स्कुलमा विद्यार्थी संगठनको अध्यक्षसमेत भए । कक्षा ८ मा बढ्दा नै राजनीतिमा सक्रिय भए । हुनत मेरो परिवार सबै आर्मीमा थिए ।
कांग्रेस भनेको अराजक तत्व हो भन्थे । परिवारका दाजुभाई, बाउबाजे, ईष्टमित्र सबै आर्मी भएकाले राजनीतितिर लगाव खासै थिएन् । आर्मीले त्यसबेला कांग्रेस भनेको अन्तर्राष्ट्रि तत्व हो भन्थ्यो । ‘तेरो घरमा कांग्रेस बसोस्’ भनेर गाली नै गर्थे । म फुच्चे थिए र नेविसंघमा बसेर काम गर्थें । यही सिलसिलामा ०३६ सालमा काठमाडौं आएको हुँ ।
त्यसपछि विस्तारै कलाकारितामा सक्रिय भए । सिनेमातिर पनि लागें । टेलिभिजनतिर सक्रिय भए । सानोतिनो व्यवसाय गर्न भनेर कलाकारितातिर र सिनेमा निर्माणतिर लागेको हुँ । अलिकति पछाडि परें होला, ठाउँ नपाएर समस्या भयो । ०४६ सालको आन्दोलनमा सम्भवत म कुनै पनि दिन आन्दोलनमा नगएको दिन छैन् । जनआन्दोलन ड्यूटी नै जस्तो थियो । ०४६ सालमा महेन्द्रको शालिक भाँचेकोदेखि लिएर धेरै काम गर्न भ्याइन्थ्यो ।
जब राजाबाट बहुदल घोषणा भयो त्यसको अघिल्लो दिन त्रिचन्द्र कलेजमा कलाकारहरु अथवा हामीलाई लगेर थुनियो । कलाकारहरु सडकमा उत्रिसकेपछि त्यो प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने नै भयो । ६३/६३ को आन्दोलन यथार्थमा ०५८ सालदेखि भएको हो । ०५८ देखि निरन्तर कुनै न कुनै रुपबाट भएको आन्दोलनमा म सधैं उपस्थित नै थिए । चाहे सडक आन्दोलन होस्, चाहे ट्रकमा थुनिएर किन नहोस, सँधै सक्रिय हुन्थें ।
त्यसपछि विस्तारै मैंले कलाकारहरुको समूह गठन गरेको हुँ । त्यसपछि हामी सबै जम्मा भएर जुलुस निकाल्न थालेका हौंं । नाच्दै, गीत गाउँदै आन्दोलनमा होमिएका थियौं । समूह समूहमा सडक नाटक पनि गर्न थाल्यौं । हामी जहाँ जम्मा हुन्थ्यौं, त्यहाँ मान्छे सहभागी हुन थाले । नाटक हेर्न थाले । त्यसलाई प्रत्यक्ष रुपमा गिरिजाप्रसाद कोइरालाले पनि देखे । ०६३/६३ को आन्दोलनले हाम्रो कलाकारिताको प्रभावले आन्दोलन प्रभावित हुन्छ भनेर कांग्रेस पार्टीमा समाहित हुन आब्हान भयो । र हामी त्यही अनुसार अगाडि बढ्यौं ।
वानेश्वरमा हामी सबै जम्मा हुन्थ्यौं । त्यहींबाट हामी योजना बनाउथ्यौं । एक दिन गीत गाउने, अर्को दिन देउसीभैलो खेल्दै जाने गर्दथ्यौं । बिना सिजनमा देउसीभैलो खेल्दा सबैजना घरको छत छतबाट हेर्ने गर्थें । यस्ता विभिन्न क्रियाकलाप गर्दै कहिले रत्नपार्क, कहिले शहिद गेटमा, कहिले वसन्तपुरमा, कहिले सिहदरबारमा कलोपट्टी बाँधेर बस्यौं । यसरी कलाकारहरु आन्दोलनका रुपमा बस्न थालेपछि त्यसको प्रभाव बढ्दै गयो । प्रभावकारी हुँदै गयो ।
मिडियाले राम्रो कभर गरे । प्रत्येक दिन हामी समाचारमा आएकै हुन्थ्यौं । नआएको कुनै दिन हुँदैन थियो ।
माओवादीको प्रभाव पनि थियो त्यसबेला । त्यसमाथि म आर्मी परिवारको मान्छे भनेपछि त माओवादीको दुस्मन नै भइन्थ्यो । जिल्लामा एक दिनको घटना हो, आमाले तँ घरको माथि नसुत, बारीको कुनामा ओछ्यान लगाइदिन्छु त्यही गएर सुत भन्नुभयो । रातभरी ओहोरदोहोर गर्न, पानी माग्न के गर्ने भनेर तनाव हुन्थ्यो । त्यही भएर बारीको पाटामा सुत्नु परेको थियो । त्यो चाँही घट्ना कहिल्यै भुल्न सकिदैन् ।
मलाई अहिले दुःख लाग्छ । अहिलेको अवस्था कस्तो भयो भने व्यक्ति केन्द्रीत कुरा भयो । म कसरी बन्ने भन्नेतिर सबैको ध्यान गएको छ । हाल स्वतन्त्र पार्टी र बालेनलाई भोट जानुको कारण त्यही बितृष्णा हो । म पार्टी सभापति शेर बहादुर देउवालाई सम्मान गर्छु । तर पार्टीमा एउटै अनुहार देखिरहनु दुर्भाग्यपूर्ण छ ।
पहिला बाउबाजेका पालामा दरबार बाहिर कुर्ने गरिन्थ्यो । कतिबेला बार्दलीमा आए, को–को आएका थिए भनेर हेर्ने गरिन्थ्यो । आजपनि राजनीतिको विकसित अवस्था त्यही छ । अझैपनि सामन्तबादी प्रथा कायम छ । हामीले हाम्रा नेताहरु सजिलै भेट्न पाउँदैनौं । हाम्रो कुरा सुनिदैनन् । कांग्रेसले आजसम्म देशमा सबैभन्दा बढि परिवर्तन कांग्रेसले ल्याएको हो । हरेक पक्षको न्यायिक परिवर्तन कांग्रेसले नै गरेको हो । विभिन्न आयोग गठन गर्ने, संविधान निर्माण गर्नेदेखि विकासका काममा कांग्रेसको भूमिका उल्लेख्य छ तर नेताहरुको चरित्र परिवर्तन हुन सकेको छैन् ।
दुखका साथ भन्नुपर्छ लोकतान्त्रिक सांस्कृतिक अभियान गर्छु भनेर प्रयास गर्दा हामीलाई सहयोग नै भएन् । कांग्रेसको अभियान वा लोकतन्त्रको मर्म जनतालाई गीत, कविता, चित्रबाट गराउछु भन्दा पनि सहयोग प्राप्त भएन् ।
त्यसैले हाम्रै क्रियाकलापहरु सुधार गर्नुपर्ने देखिन्छ । अरु केही पनि होइन । लोकतन्त्रले परिवर्तन ल्याएको छ विकास भएको छ । मानिसले स्वतन्त्रपूर्वक बोल्न पाएका छन् । यहाँ सभापतिलाई गाली गर्न पाइन्छ, निर्धक्कसँग आफ्ना कुरा भन्न पाइन्छ । तर सिस्टम परिवर्तन भएन् । पञ्चायतले सिकाएको कुरा नै गरिरहेका छौं ।
बहुदलीय शासन पनि ठिक छैन् भनेर गणतन्त्र ल्याएका हौं । तर आज पनि हामी कुर्नैपर्छ, हाम्रा कुरा सुनिदैनन् । संस्थाले भनेको कुरा सुनिदैन् । म चलचित्र क्षेत्रमा काम गरें । सांस्कृतिक क्षेत्रमा छु । मैंले भनेको, मेरो संस्थाले भनेको मान्छे कहींपनि नियुक्ति गर्न पाइँदैन् । मैले सजिलोसँग गगन थापा पनि भेट्न पाउँदिन । विश्वप्रकाश शर्मालाई भेट्न पाउँदिन् । यस्तो विडम्बना छ हाम्रो अवस्था ।
शेर बहादुर देउवालाई भेट्न लाइन बसेर कुर्नपर्छ । विरक्त लाग्दो अवस्था छ । तर जे काममा लागेका छौं, त्यसलाई छाड्न हुँदैन् । आफूले नपाएपनि मेरो पिँडीले पाउछ भनेर सक्रिय भइरहनुपर्छ । विकृति छ तर त्यसलाई हटाउन हामी नै लाग्नुपर्छ । सबैभन्दा ठूलो कुरा संस्थागत हुनुपर्यो, व्यक्तिगत निर्णय हुनुभएन ।
सम्बन्धित संस्था वा क्षेत्रको सल्लाह सुझावलाई लिएर निर्णय गर्नुपर्छ । सम्बन्धित संस्थाका मानिसको कुरालाई संस्थागत विचारलाई सम्मान गर्नुपर्ने परिपाटीको विकास गर्नुपर्छ । तबमात्र लोकतन्त्रको स्थायित्व, गणतन्त्रको आवश्यकता र पहिचान स्पष्ट हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया