News and Updates

काठमाडौं । अमेरिकी संगीतकार, कलाकार एवम संगीत शिक्षक डा.जोन शार्पली यतिबेला काठमाडौंमा छन् । सिंगापुर बसेर संगीतको ज्ञान बाँडिरहेका उनी नेपाली संगीतका पारखी समेत हुन् ।
पूर्वी र पश्चिमी संगीत परम्पराहरूको अध्ययनमा रुची राख्ने उनी चर्चित पियानोवादक पनि हुन् । संगीतलाई आफ्नो प्राणकै रुपमा लिने गरेका उनी नेपाली संगीतको खुलेर प्रशंसा गर्छन् ।
स्प्रिङ कन्र्सटका रुपमा नेपाल आएका उनी नेपाल न्यूज बैंकसँगको कुराकानीका क्रममा नेपालको सांस्कृतिक, मौलिक एवम परम्परागत संगीतलाई विश्वभर जहाँसुकै पुगेपनि विर्सन नसकिने बताउँछन् । पाँचौ पटक नेपाल आइसकेका उनले नेपाली संगीतलाई विश्वव्यापी प्रवद्र्धनका लागि काम गर्ने प्रतिवद्धता पनि जनाए ।
‘मलाई घुम्न धेरै मन पर्छ । म नेपाल आएको यो पाँचौैं पटक हो । पहिला नेपाल २०१६ मा आएको थिएँ । जब जब म नेपाल आउँछु । मलाई आफ्नो घर आएको जस्तो महशुस हुन्छ । नेपालको कल्चर धेरै नै मन पर्छ । नेपाल इतिहासले भरिपूर्ण छ,’ उनले भने,‘ स्प्रिङ कन्सर्टको लागि म नेपाल आएको हुँ । नेपाल संस्कृतिमा धेरै नै भरिपूर्ण छ । यहाँ धेरै किसिमका चाडपर्वहरु छन् । धेरै रिति रिवाजहरु छन् । हरेक दिन म यहाँका संंस्कृतिहरुमा गहिरो रुपमा जोडिन पुग्छु । त्यसमै रमाउने पनि गर्छु ।’
संगीतका पनि विभिन्न विधा रहेको उनी बताउँछन् । पपुलर म्युजिक, सांस्कृतिक, क्लासिकल म्यूजिक सुन्ने गरिएको उनले बताए । ‘मलाई नेपाली म्युजिक धेरै नै मन पर्छ । नेपाली म्यूजिकले हरेकको मन छुन्छ । नेपाली म्युजिक भावनात्मक हुने भएकाले यसभित्र धेरै कुराहरु पाउँछु,’ उनले भने ।
नेपाली संगीत रोचक रहेको बताउँदै उनले पाश्चात्य संगीत र सांस्कृतिक संगीतलाई मिलाएर लैजानुपर्ने बताए । ‘पाश्चात्य संगीतको दाँजोमा नेपाली संगीत पनि कमजोर छैन् । विश्वको जुनसुकै संगीतहरुमा पनि भित्रि संयोजन भएकाले एक अर्कामा जोडेको हुन्छ । त्यसैले सबै संगीतसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’ उनले भने ।
नेपालमा पूराना र मौलिक गाउँघर तिरको लोक संगीतहरु औधि रुचि लाग्ने बताएका डा.शार्पालीले नेपालको सारंगीको धुन एकदमै बढी मनपर्ने सुनाए । ‘गाउँतिर सारंगीहरु बजाइरहेको सुन्दा त्यसको धुन अत्ति नै गहिरो लाग्छ । त्यसैले पनि नेपाली संगीतले अन्तर्राष्ट्रिय बजारमा स्थान पाउनुपर्छ । मलाई धेरै मनपर्ने गीत ‘उकाली ओराली’ हो । त्यो गीत सुन्यो कि म सँधै रुन्छु । विश्वभरीकै मानिसले नेपाली म्यूजिकलाई एकदम मन पराउछन् जस्तो लाग्छ ।’ उनले भने ।
नेपालमा अरु देशको भन्दा फरक संस्कृति रहेको सुनाउँदै उनले कुमारी नाच र लाखे नाच एकदमै राम्रो लाग्ने पनि सुनाए । त्यस्तै ‘सयथरी बाजा’ राम्रो लागेको धुनमध्ये एक रहेको बताए ।
अमे डे लुमिएर होलिस्टिक सिंगापुर साउन्ड हिलरकी संस्थापक, मेटाफिजिशियन, इनर्जी हिलर, डकुमेन्ट्री निर्माता अमेलिया काङ पनि यतिबेला नेपालमा छिन् । शनिबार काठमाडौंको रसियन सेन्टरमा हुने स्प्रिङ कन्र्सटमा सहभागी हुन आएकी उनले नेपाली संगीतको शक्तिको तारिफ गरिन् ।
‘म पहिलो पटक नेपाल आएकी हुँ । एकदमै खुसी लागेको छ । यहाँको मान्छेहरु एकदमै राम्रा छन् । यहाँको इनर्जी र संगीत साथै मैले गर्ने हिलिङको लागि एकदमै राम्रो लागेको छ,’ उनले अगाडि भनिन्,‘नेपाली संगीतका बारेमा बुझ्ने यो मेरो दोस्रो मौका हो । पहिलो पटक मैले नेपाली संगीतलाई बुझ्ने मौका अघिल्लो वर्ष पाएको थिए । जोनले सिंगापुरमा कुमारी नाचको आयोजना गरेकाले त्यस समयदेखि म नेपाल आउनुपर्छ, संगीतलाई बुझ्नुपर्छ भन्ने लागेको थियो ।’
काठमाडौं यूथ आर्केष्ट्राले यही शनिबार काठमाडौमा स्प्रिङ कन्र्सट गर्न लागेको छ । नेपाली संगीतलाई विश्वमा प्रचार गर्ने प्रयास स्वरुप यूथ आर्केष्ट्रा काम गरिरहेकोमा डा. जोन शार्पली धन्यवाद पनि दिए ।
स्प्रिंग कन्सर्ट २०८२ को लागि विशेष अतिथि कलाकारको रुपमा ड.जोन शार्पलीलाई बोलाइएको हो । उक्त कन्सर्ट काठमाडौं युथ आर्केस्ट्राले आयोजना गरेको हो ।
यो कार्यक्रमले नेपालको सांस्कृतिक गीत संगीतलाई प्रोत्साहन गर्न मद्दत गर्ने ड.जोन शार्पलीको भनाई छ ।
कन्र्सटमा पूराना गीतहरु प्रस्तुत गर्न लागेको आयोजकको भनाइ छ । शनिबार रसियन कल्चर सेन्टरमा दिउसो २ः३० बाट हुन लागेको कन्र्सटमा ‘प्रेट्रोटिक संङ, ‘कल्चरल संङ’, ‘हेलिङ म्यूजिक’ र किताब बिमोचनको कार्यक्रम तय गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया