Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

म्याग्दीकै पुरानो विद्यालयको हीरक जयन्ती

News and Updates
5 घण्टा अघि

म्याग्दी बेनी, १५ वैशाख । रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित जिल्लाकै पुरानो विद्यालय मुक्तिधाम माध्यमिक विद्यालयले ७५औँ वार्षिकोत्सवको अवसरमा हीरक जयन्ती मनाउँदै छ ।

 

 

 

विसं २००६ मा राहुघाट मिडिल स्कुलको नाममा स्थापना भएको उक्त विद्यालयमा २०२२ सालदेखि माध्यमिक तहको पठनपाठन सुरु भएको हो ।

 

 

 

स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा विद्यालयले विविध कार्यक्रमसहित हीरक जयन्ती मनाउन थालेको छ । तत्कालीन समयमा एकतले कच्ची भवनबाट पठनपाठन सुरु भएको सो विद्यालयको तह वृद्धि र विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि २०४० सालमा नागबारीमा स्थानान्तरण गरिएको थियो ।

 

 

 

विद्यालयका पूर्वविद्यार्थी समेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले जिल्लाकै पुरानो विद्यालयले शैक्षिक क्षेत्रमा अतुलनिय योगदान दिएको बताए। “तत्कालीन समयमा विद्यालय स्थापना गर्नु अत्यन्तै उदाहरणीय कार्य थियो, दुर्गम र राज्यको पहुँचबाट धेरै टाढाको बस्तीमा स्थापना भएको विद्यालयले शिक्षाको ज्योति बाल्दै समाज परिवर्तनमा खेलेको भूमिका उल्लेखनिय छ”, उनले भने ।

 

 

 

हीरक जयन्तीको अवसरमा विद्यालयले स्थापनादेखि हालसम्मको गतिविधि र उपलब्धि समेटिएको ‘मुक्तिदर्पण’ स्मारिका प्रकाशन गरेको छ । सो अवसरमा विद्यालयका पूर्वशिक्षक, पूर्वप्रअ, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी र शिक्षक अभिभावक सङ्घका अध्यक्ष एवं विद्यालयमा अध्ययन गरी राष्ट्रको विभिन्न तहमा रहेर योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

 

 

 

 

यही वैशाख १८ गतेसम्म आयोजना गरिने हीरक जयन्तीमा जिल्लास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको प्रधानाध्यापक अमर केसीले जानकारी दिए।

 

 

 

कक्षा १२ सम्म अध्यापन हुने मुक्तिधाम माविमा हाल करिब ४०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले २०७६ सालदेखि कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षातर्फ बाली विज्ञान विषयमा पठनपाठन गराउँदै आएको छ ।

 

 

 

पुरानो र जीर्ण भवन जीर्णोद्धार गरी सञ्चालित सो विद्यालयले विद्यार्थीको सहजताका लागि छात्राबास भवन निर्माण गरी आवासीय सुविधासहितको विद्यालय बनाउने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया