Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की

News and Updates
6 घण्टा अघि

काभ्रेपलाञ्चोक, १६ वैशाख । जिल्लाको कोशीपूर्व क्षेत्रको एक सडकखण्ड १५ वर्षपछि पक्की बनाइएको छ । विसं २०६६ मा बाटो खोलिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–बाफल करिब चार किलोमिटर सडक स्तरोन्नति गरी पक्की बनाइएको हो ।

 

 

 

ठेकेदार कम्पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि कालोपत्र सम्पन्न गरेको छ । गत साल मङ्सिर ३ गते जिल्लास्थित पूर्वाधार विकास कार्यालय धुलिखेल र निर्माण व्यवसायी पिएसके/एभरेष्ट जेभीबीच ठेक्का सम्झौता गरेको थियो ।

 

 

 

आगामी मङ्सिर २ गतेसम्म ठेक्काको समयसीमा रहे पनि निर्माण कम्पनीले यही वैशाख पहिलो साता कालोपत्र सम्पन्न गरेको हो ।

 

 

 

उक्त सडकखण्ड बागमती प्रदेश सरकारको रु नौ करोड ३२ लाख ६५ हजार ५०० मा ठेक्का सम्झौता भएको थियो । कम्पनीका व्यवस्थापक प्रदीप गौतमका अनुसार पहिलो चरणमा तीन हजार ८०० मिटर ‘आसफाल्ट’ सम्पन्न भएको छ । अब यही ठेक्काअन्तर्गत थप ४०० मिटर ढलान भइरहेको गौतमले बताए ।

 

 

 

यसैबीच सोही क्षेत्रअन्तर्गत अरनिको राजमार्गसँग जोडिएर दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे सडकअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती सडकखण्डमा स्तरोन्नति भइरहेको छ ।

 

 

 

बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना–‘ए–एफ’ आयोजना कार्यान्वयन इकाइ भक्तपुरमार्फत साढे छ किलोमिटर सडक विस्तार भइरहेको जनाएको छ ।

 

 

 

यसमध्ये गत असोजको बाढीपहिरोले करिब डेढ किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि आयोजनाले त्यस क्षेत्रमा थप नयाँ डिजाइन गर्नुपर्ने जनाएको छ ।

 

 

 

अर्को डिजाइन नहुँदासम्म यो क्षेत्रमा हाल काम नहुने आयोजनाका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार विस्तारित सडकखण्डमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

 

 

 

एसियाली विकास बैङ्क एडिबीको लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले रु १२ करोड भ्याटबाहेकमा ठेक्का सम्झौता गरेको थियो । २०८० साल चैत १३ गते ठेक्का सम्झौता गरी दुई वर्षमा सक्ने समयसीमा छ ।

 

 

 

हालसम्म योजनाको २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया