४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

तिहार लागेसँगै बजारमा बढ्यो चहलपहल

२६ कात्तिक, काठमाडौं । तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ ।

बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरुको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ ।

गतवर्ष प्रतिकिलो १७ सय रुपैयाँ पर्ने काजु यो वर्ष १५ सयमा झरेको छ भने १३ सय रुपैयाँ पर्ने बदाम १२ सयमा बिक्री भइरहेको छ । किसमिस, ल्वाङ, मखनलगायतको मूल्य भने स्थिर रहेको छ ।

चालु आर्थिक वर्षको असोजसम्म एक अर्ब १४ करोडको सामग्री आयात भएको छ । यो वर्ष तिहारमा प्रयोग हुने भाई मसलाको आयात पनि घटेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो ।

मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । यस वर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छन् ।

भाइमसला तिहारमा बढी खपत हुने गर्छ । तिहारमा दिदिबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्