३ कार्तिक २०८१, शनिबार
राजनीति

नयाँ कार्यकक्षमा प्रधानमन्त्री, खुल्दै स्टेट हल र बेलायती कक्ष

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो ।

बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ कार्यकक्षमा पुगेर फराकिलो कार्यस्थलले सिजर्नात्मकता बढ्ने विश्वाश व्यक्त गरे । ‘यो यसघिकोभन्दा फराकिलो छ, यहाँ बसेर काम गर्न अलि बढी आइडिया फुर्छ होला,’ उनले भने,‘बरन्डाको प्रयोग पनि गर्न पाइन्छ ।’

२ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरनै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा आउने अधिकारीहरु बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्षसहित तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।

पश्चिम मोहोडाका यि विशिष्ट पाहुनाहरुसँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरुको तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम लगभग सकिएको छ ।

माघ २०७७ मा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्किएको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार २०७६ सालदेखि गौरी/शर्मा एण्ड न्यु टेक्निकल जेभीमार्फत पश्चिम मोहोडाका कक्षहरुको पुनर्निर्माण सुरु भएको थियो । पुनर्निर्माण प्राधिकरण विघटन भएसँगै शहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले यो आयोजना हेरिरहेको थियो ।

पुनर्निर्माण सकिएको सिंहदरबारको पश्चिम मोहोडा विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । सो आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । ती भागहरुको पुनर्निर्माण गरिएको थियो ।

तर, आगलागीबाट जोगाइएका बेलायती कक्ष स्टेट हलदेखि चन्द्रशमशेरका शयन कक्षसम्म कक्षहरु सिंहदरबारको पश्चिमी मोहोडामा पर्छन् । सो मोहोडाका कक्षमा रहेको राणाकालीन विभिन्न सम्पदाहरुलाई त्यसतर्फ नै संग्रहालय बनाएर राख्ने तयारी छ ।

अधिकारीहरुका अनुसार पुराना विलासी र बहुमूल्य पेन्टिङ, घडी, झुमर र कलाकृतिहरुलाई दुरुस्तै राखेर कक्षहरुको पुनर्निर्माण गरिएको छ ।

चन्द्रशमशेरले आफ्नै प्रयोजनका लागि सिंहदरबार निर्माण गराउँदा नै स्टेट हल र बेलायती कक्षहरु बेलायको दरबारका कार्यकक्ष स्तरमै बनाएका थिए । इतिहासका जानकारहरुका अनुसार सुनौलो रंगको ‘स्टेट हल’ उनको सबैभन्दा प्रिय कक्ष थियो । आफ्ना विशिष्ट भेटवार्ता उनी त्यही कक्षमा गर्थे । कक्षमा हुने अन्य गतिविधिहरु पनि यही हलको माथितर्फ रहेका शयन कक्षमा खुल्ने झ्यालबाट नियाल्थे ।

कक्षका ढोकादेखि झ्यालसम्ममा बहुमूल्य बुट्टेदार सिसाहरु प्रयोग गरिएका छन् । यो कक्ष कलात्मक ऐनादेखि बुट्टेदार भित्ताहरुले सजिएको छ । राणाकालीन पियानोसम्म राखेर सजावट गरिएको छ । यहाँ राखिएका महँगा झुमर र पेन्टिङदेखि घडीहरुसम्मले राणा प्रधानमन्त्रीहरुको विलासी शोखलाई प्रतिबिम्बित गर्छन् ।

ऐतिहासिक महत्वको बेलायती कक्ष पनि ‘नियोक्लासिक’ डिजाइनमा बनेको शानदार कक्ष हो । बेलायतकै दरबारको अतिविशिष्ट कक्षको नक्कल गरेर बनाइएको सो कक्षमा पनि महँगा पेन्टिङदेखि झुमरहरुसम्म सजाइएका छन् । कक्षमा कुँदिएका कलात्मक बुट्टाहरुले यो कक्षलाई भव्य देखाएको छ ।

राणा प्रधानमन्त्रीहरुले ऐस आरामका लागि प्रयोग गरेका यस्ता कक्षहरु अहिले सिंहदरबारको इतिहाससँग जोडिएको गर्वको सम्पदा बनेका छन् । यी कक्षहरु बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा आउँदा समेत राजकीय भेटवार्ता तथा भोजका लागि प्रयोग भएका थिए ।

हालै पुनर्निर्माण सकिएका सिंहदरबारभित्रको स्टेट हल २० वर्षदेखि भने प्रयोगविहीन छ । २ जेठ २०५८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चिनियाँ प्रधानमन्त्री झु रोङ्जीसँग भेटेपछि स्टेट हलको प्रयोग भएको छैन ।

बेलायती बैठक कक्षमा भने १ माघ २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ समकक्षी वेन जिआबाओसँग भेट गरेका थिए । त्यसपछि यो कक्ष प्रयोग भएको रेकर्ड छैन ।

२०७२ को भूकम्पअघि नै भित्ता चर्किने र भुईं थर्किने लगायत समस्या देखिएपछि यी कक्षहरु प्रयोगमा थिएनन् । झन् २०७२ सालमा यी कक्षका भित्ताहरु चर्किएपछि ताल्चा ठोकिएको थियो ।

सरकारले बेवास्ता गर्दा भूकम्प गएको ८ वर्षसम्म यी कक्षहरुको पुनर्निर्माण सकिएको थिएन ।

सरकारले चासो नदिंदा भएका कक्षहरु प्रयोग नहुने तर अति विशिष्ट विदेशी पाहुनासँगको भेटघाट पाँचतारे होटलहरुमा गर्नुपर्ने बाध्यता थियो । त्यसले सरकारको खर्च बढाएको तियो भने सुरक्षा व्यवस्थापन पनि जटिल हुने गरेको छ । अब भने प्रधानमन्त्रीले विशिष्ट भेटघाटमा यी कक्षहरु नै प्रयोग गर्नसक्ने अवस्था बनेको छ ।

गौरी/शर्मा एण्ड न्यु टेक्निकल जेभीका टिम लिडर लक्ष्मीप्रसाद सुवेदी ठेक्का अन्तरगतको सबै काम सकिएको र दरबारलाई प्रवलीकरण गरेर जोगाइएको बताउँछन् । ‘ कक्षहरुमा केही राख्नुपर्ने वा सजाउनुपर्ने भए सरकारले थप काम गर्छ,’ उनले भने,’हामीले पाएको जिम्माअनुसार काम सकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्