४ आश्विन २०८१, शुक्रबार
अर्थ समाचार समाज

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको १ वर्षपछि पोखरामा खुल्यो अध्यागमन कार्यालय

पहिलो सेवाग्राही चिनियाँ खेलाडी

७ मंसिर, पोखरा । सञ्चालनमा आएको करिब एक वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । उपसचिव लिलाभल्लव न्यौपानेले यहाँको अध्यागमन कार्यालयको नेतृत्व गरेका छन् ।

विमानस्थलमा कूल २९ जना कर्मचारी दरबन्दी रहे पनि पहिलो चरणमा बिहीबारदेखि विभिन्न तहका १० जना कर्मचारीले कार्यालय सम्हाल्न थालेका हुन् ।

‘गृहमन्त्रालयले खटाएअनुसार हामी विभिन्न तहका कर्मचारी यहाँ आएका छौं,’ न्यौपानेले भने, ‘आजैदेखि विधिवत रुपमा हाजिर भएर कार्यालय सञ्चालन भएको छ ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ६ असारमा चीनको छेन्दुबाट चाइना–नेपाल ड्रागन बोटरेस प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी बोकेर सिचुवान एयरलाइन्सको विमान पोखरा आएको थियो ।

त्यसको करिब २ महिनापछि भदौ २३ गते रोयल भुटान एअरलाइन्सको ड्रुक एअरले पोखरा विमानस्थलका लागि पहिलो पटक व्यवसायिक अन्तर्राष्ट्रिय उडान भरेको थियो । त्यसयता थप २ वटा चिनियाँ चार्टड उडान भइसकेका छन् । तर, अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालनमा आएको थिएन ।

बिहीबार साँझ पनि पोखरामा चौथो चार्डर्ट विमान अवतरण गर्दैछ । मंसिर ९ गतेदेखि पोखरामा हुन लागेको माउन्टेन क्रसकन्ट्री दौड प्रतियोगितामा भाग लिन आउने चिनियाँ खेलाडी बोकेर चिनियाँ सरकारको सहयोग हिमालय एअरलाइन्सको चाटर्ड जहाज पोखरा आउन लागेको हो ।

सोही चार्टड जहाजमा आउने खेलाडी नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुलेको अध्यागमन कार्यालयको पहिलो सेवाग्राही हुनेछन् । ‘हामी सबै तरिकाले तयारी अवस्थामा नै छौं । लामो समयदेखि अन्तर्राष्ट्रिय उडान नभइरहेको अवस्थामा हामी आउनु र चार्टर्ड विमान आउनु संयोगजस्तै भएको छ’, अध्यागमन प्रमुख न्यौपानेले भने ।

न्यौपानेले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकै प्रकृतिमा पोखराबाट सेवा दिइने जानकारी दिए । ‘त्रिभुवन विमास्थलमा अराइभल र डिपार्चरमा जस्तो सेवा पाइन्छ, यहाँ पनि त्यही हो’, उनले भने, ‘कामको चापका हिसाबले भन्ने हो भने अहिले तत्कालका लागि यता (पोखरामा) अलि सहज हुन्छ ।’

अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका लागि आवश्यक न्यूनतम पूर्वाधार खडा भइसकेको र बाँकी कार्यालय सञ्चालनका लागि आवश्यक तयारीहरु विस्तारै परिपूर्ति गरिँदै जाने न्यौपानेले बताए । ‘अध्यागमनको खास काम अन्तर्राष्ट्रिय उडानसँग सम्बन्धित भएका कारणले अन्तर्राष्ट्रिय उडानको चाप बढ्दै जाँदा यहाँको कामको चाप पनि बढ्दै जान्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्