३ आश्विन २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार

प्रदर्शक र निर्माताबीच सहमति : फिल्म प्रदर्शन हुञ्जेल ५०-५० प्रतिशत सेयर पाउने

७ मंसिर, काठमाडौं । नेपाली चलचित्र निर्माताले अब हलमा फिल्म प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउने भएका छन् । चलचित्र संघ र चलचित्र निर्माता संघबीच बिहीबार यस्तो सम्झौता भएको हो ।

चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार फिल्म ‘दिमाग खराब’ रिलिज भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागू गर्न दुवै पक्ष सहमत भएका हुन् । सबै स्वदेशी फिल्मले यो सुविधा पाउनेछन् ।

‘यो हामी सबैको जित हो । कसैले जितेको र कसैले हारेको छैन । यो महत्वपूर्ण दिन हो,’ सहमतिपछि अनलाइनखबरसँग कुरा गर्दै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भने ।

फिल्म ‘दिमाग खराब’का निर्माताको मागअनुसार दुवै चलचित्रसम्बन्धी संस्थाका वार्ता टोलीले लामो समयदेखि थाँती रहेको सेयर बाँडफाँटको मुद्दामा वार्ता गर्दै आइरहेका थिए । मंगलबार र बुधबार दुई दिन चलेको वार्तापछि दुवै संस्थाका वार्ता टोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेका थिए ।

यो सहमतिलाई दुवै संस्थाले संयुक्त प्रेस विज्ञप्तिमार्फत औपचारिक जानकारी दिने तयारी गरिरहेका छन् । सेयर बाँडफाँट मात्र नभएर अन्य महत्वपूर्ण मुद्दामा समेत सहमति भएको निर्माता संघका अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्