३ आश्विन २०८१, बिहीबार
अर्थ समाचार समाज

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

११ मंसिर, झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेख अनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।

सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए ।

पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै रु ३८ करोड ३१ लाख ८७ हजार दुई सयबराबरको व्यापार घाटा भएको छ ।

नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा

छन् । यीमध्ये सबैभन्दा बढी रु नौ करोड ५४ लाख ७२ हजार मूल्यबराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिए ।

यसैगरी तरकारीमा गोलभेँडा रु पाँच लाख १२ हजार मूल्यबराबरको २६ मेट्रिक टन र रु पाँच लाख ८९ हजार मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ ।

१९ करोड बढीको गोलभेँडा आयात

चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा मात्रै रु १९ करोड ३७ लाख ४० हजार मूल्यबराबरको नौ हजार छ सय ८७ मेट्रिक टन आयात भएको छ ।

सोही अवधिमा भारतबाट रु दुई करोड सात लाख ८० हजार मूल्यबराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र रु तीन करोड ७१ लाख ८० हजार मूल्यबराबरको एक हजार आठ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ ।

तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ ।

कोदो र आलुमा पनि भारतकै भर

नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा रु २३ करोड ६१ लाख ६० हजार मूल्यबराबरको चार हजार नौ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्