४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

गृह मन्त्रालयले देशभरका कारागारमा योग शिविर चलाउने

१२ मंसिर, काठमाडौं । गृह मन्त्रालयले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने भएको छ । योग शिविर ललितपुरको नख्खु कारागारबाट सुरु हुने छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठको सचिवालयले पठाएको प्रेस नोटमा लेखिएको छ, ‘एकमहिना भित्रै नख्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ ।’

गृह मन्त्रालयका अनुसार नेपालमा केन्द्रीय कारागारसहित ७४ वटा कारागारहरु छन् । ती सबै कारागारहरुमा नेपाल विपश्यना केन्द्रको व्यवस्थापनमा शिविर सञ्चालन हुने छ । धर्मसेवक सुशील शाहका अनुसार एक पटकमा ६०–७० जनाले योग्याभ्यास गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने छ ।

यसअघि नख्खु, भिमफेदी, परासी र बिराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भैसकेको मन्त्रालयले जनाएको छ ।

यसअघि गृह मन्त्रालयले अधिकृतदेखि माथिका कर्मचारीहरुलाई ध्यान विज्ञान कार्यक्रम सन्चालन गरेको थियो । लगत्तै सबै महाशाखाहरुलाई परिपत्र गरेर बिहान १०ः१५ बजेभन्दा अगाडि अनिवार्य १५ मिनेट योगाभ्यास/ध्यान गर्न मन्त्रालयले भनेको थियो । यसो गर्दा कर्मचारीहरुको कार्यक्षमता बढ्ने मन्त्रालयको विश्वास छ ।

कारागारमा योग शिविर सन्चालन गर्ने निर्णय गर्नुअघि मंगलबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह रानाको बैठक बसेको थियो । सोही बैठकले देशभरका कारागारमा योग शिविर सन्चालन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुन लागेको प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्