३ कार्तिक २०८१, शनिबार
राजनीति

प्रहरी समायोजन तत्काल सुरु गर्न प्रधानमन्त्री र संघीय गृहमन्त्रीलाई प्रदेशका गृहमन्त्रीको आग्रह

१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मंगलबार प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला तथा कानूनमन्त्री) हरुले संयुक्त रुपमा भेटेर यथाशीघ्र प्रहरी समायोजन गर्न माग गरेका हुन् ।

उनीहरुले प्रहरीको संरचना र कर्मचारी प्रदेशमा हस्तान्तरण नगर्दा प्रदेशको शान्ति सुरक्षामा प्रभावकारी हुन नसकेको भन्दै अविलम्व प्रहरी समायोजन गरी शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश मातहत ल्याउन माग गरेका हुन् ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाइ प्रदेशलाई अधिकार सम्पन्न बनाउन आग्रह गरिएको बताए ।

प्रहरी कर्मचारी समायोजन ऐन २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन २०७६ संघीय संसदबाट पारित भएर प्रमाणीकरण भएको ४ वर्ष हुँदासमेत संघीय सरकारले प्रहरी समायोजन नगरेकाले ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

‘संघीय संसदले पारित गरिसकेको ऐनको मर्म र भावना अनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन समायोजनका लागि आवश्यक कारबाही अगाडि बढाइदिनुहुन माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छौं’ ज्ञापनपत्रमा भनिएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले छिटोभन्दा छिटो प्रहरी समयोजनको प्रक्रिया आरम्भ गर्ने प्रतिवद्धता जनाएका मन्त्री गंगानारायण श्रेष्ठले बताए ।

गृहमन्त्री श्रेष्ठसँगको भेटमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ, मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिम, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट सहभागी थिए ।

त्यसैगरी गण्डकी प्रदेशकी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी र कोशी प्रदेश सरकारका बिना विभागिय मन्त्री समशेर राई पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्