३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार

रुकुमको सोती घटनासँग सम्बन्धित मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

१७ मंसिर, काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ ।

२०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । शवहरु भेरी नदीमा भेटिएका थिए ।

सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरिएको थियो । सो समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।

अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका-८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो ।

घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् । ११ जनालाई भने तारेखमा छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्