एनसेलले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा के छ ?
२० मंसिर, काठमाडौं । पूर्वस्वीकृति नलिई आजियाटाले एनसेलको सेयर बिक्री गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले यसबारे सोधेको प्रश्नमा एनसेलले जवाफी पत्र पठाएको छ । मंगलबार एनसेलले जवाफी पत्र पठाएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
जवाफमा एनसेलले प्राधिकरणका ऐन नियम कम्पनीले पालना गर्दै आएको र सेयर खरिद-बिक्रीको लागि पनि सहमति लिने जवाफ दिएको उनले बताए ।
एनसेलले पठाएको पत्रमा आजियाटा यूके र स्पेक्ट्रलाइट कम्पनीबीच सेयर खरिद-बिक्रीका लागि भएको द्वीपक्षीय सम्झौता समेतका कागजात तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलन गर्ने क्रममै रहेको उल्लेख छ ।
‘नियमावली र विनियमावलीका प्रावधान पूर्ण पालना गर्न सदा झैं आजियाटा प्रतिबद्ध रहेको छ,’ एनसेलको पत्रमा भनिएको छ, ‘दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल ती संलग्न गरी प्राधिकरण समक्ष सेयर खरिद-बिक्रीको स्वीकृतिका निवेदन पेश गरिनेछ ।’
हेर्नुहोस् एनसेलले प्राधिकरणलाई पठाएको पत्र :
प्रतिक्रिया दिनुहोस्