११ मंसिर २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति

कांग्रेसका ४ नेताले समानुपातिक सूचीबाट फिर्ता लिए नाम

२२ मंसिर, काठमाडौं । गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका ४ नेताले नाम फिर्ता लिएका छन् ।

समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिस गरेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण दुलालले जानकारी दिए । ‘गोपालमान श्रेष्ठ र बालकृष्ण पाण्डेकले एकै दिन नाम फिर्ता लिनुभएको हो । अर्कोपटक, आनन्द ढुङ्गाना र अब्दुल सत्तारले नाम फिर्ता लिनुभएको छ ।’

समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको आकांक्षी रहेका उनीहरुले त्यही कारण समानुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन् ।

फागुनबाट कार्यकाल सकिने १९ सांसदका लागि निर्वाचन आयोगले ११ माघमा निर्वाचन गर्ने समय तोकेको छ । २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएकाले बन्द सूचीमा रहेकाहरुले त्यसअघि नै नाम फिर्ता लिनुपर्छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेसमा उम्मेदवार आकांक्षी बढेका छन् । शीर्ष तहका केही नेता देखि विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु कांग्रेसबाट राष्ट्रिय सभाको सदस्य हुन आकांक्षी देखिएका छन् ।

कलाकार निर शाह, सभापति शेरबहादुर देउवाका पूर्व परराष्ट्र सल्लाहकार अरुण सुवेदी, उद्योगी अनिल रुङ्गटा पनि कांग्रेसबाट राष्ट्रिय सभाका आकांक्षी देखिएका छन् । कांग्रेसबाट राष्ट्रिय सभा सदस्य हुनका लागि आकांक्षी कलाकार शाहले अनलाइनखबरसँग भने, ‘आकांक्षी हुँ । पार्टीले के गर्छ, थाहा छैन । मैले बुझ्ने मौका पाएको छैन ।’

राष्ट्रिय सभामा जान इच्छुक सुवेदीले आफ्नो इच्छा र आवश्यकतालाई पार्टीले कार्यान्वयन गर्नेमा आशावादी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्