२६ वर्षपछि कांग्रेसको मुखपत्र नेपाल पुकार पुन: प्रकाशित
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको मुखपत्र नेपाल पुकार पुन: प्रकाशन सुरु गरेको छ । त्रैमासिक रुपमा प्रकाशित गर्ने गरी आइतबार नयाँ अंक सार्वजनिक गरिएको छ ।
पार्टी मुख्यालय सानेपामा कार्यक्रम गरी नेपाल पुकार पुन: बजारमा ल्याइएको छ । नेपाली कांग्रेस स्थापनाअघि कांग्रेसका दुई धार नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसले ‘युगवाणी’ र ‘नेपाल पुकार’ छुट्टाछुट्टै प्रकाशित गर्दै आएका थिए ।
दुई पार्टीको एकीकरण (२००६ सालमा) मा भएपछि एउटै पत्रिका पार्टीको मुखपत्र बनाउने गरी नेपाल पुकारको प्रकाशन गरिएको थियो ।
युगवाणीको प्रकाशन भने पार्टी एकीकरणपछि रोकियो । साढे पाँच दशक भन्दा बढी मुखपत्रका रुपमा प्रकाशित नेपाल पुकारलाई कांग्रेसले २०५४ सालदेखि बन्द गरेको थियो ।
‘अरु प्रतिस्पर्धी पत्रिका आएपछि आफूलाई अझै परिस्कृत गर्नुपर्नेमा पत्रिका नै बन्द गरिएको रहेछ’, प्रचार विभागका प्रमुख मीन विश्वकर्मा भन्छन् ।
पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको अगुवाइमा नेपाल पुकार पुनः प्रकाशन थालिएको हो । पुन: प्रकाशित नेपाल पुकारको नयाँ अंकको सामग्रीमा गत २४ भदौदेखि ३ असोजसम्म कांग्रेसले गरेको बीपी साहित्य महोत्सवलाई प्राथमिकतामा राखिएको छ ।
प्रचार विभागले निकालेको पत्रिकामा सम्पादकमण्डलमा गोपाल झा, इन्द्र रिजाल, लिला दाहाल, दीपेन्द्र वान्तवालगायत छन् ।
प्रतिक्रिया दिनुहोस्