३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार

एनएसएलमा अपराजित धनगढी शीर्ष स्थानमा

२८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा अपराजित यात्रा कायम राख्दै धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ ।

जारी सिजन लगातार ५ खेलमा अपराजित रहेको धनगढीले दशरथ रंगशालामा एफसी चितवनलाई १-० ले हरायो । खेलको दोस्रो मिनेटमै धनगढीका ओलावाले आफिजले गरेको गोल निर्णायक भयो ।

रोहन कार्कीले दिएको पासमा ओलावालेले बक्स बाहिर चितवनका एक डिफेण्डरलाई छलाउँदै सेकेण्ड बारमा प्रहार गरेको बलले जाली चुम्यो । चितवनका किपर विशाल श्रेष्ठले त्यो बल रोक्ने कुनै अवसर पाएनन् ।

धनगढीले सुरुदेखि नै फरवार्ड लाइनमै तीन विदेशी खेलाडी खेलाएको थियो । त्यसको परिणामले धनगढीले सुरुमै गोलको खाता खोलेको थियो । जुन गोल नै निर्णायक भयो ।

चितवनले गोल फर्काउन पेनाल्टीसहितका मौका पाए पनि सफल भएन ।

पहिलो पटक पहिलो रोजाइमा खेलेका धनगढीका टिकेन्द्र थापाले चितवनका विमल घर्ती मगरले हानेको पेनाल्टी बचाए । पहिलो हाफको इन्जुरी समयमा भएको यो पेनाल्टी टिकेन्द्रले दायाँतर्फ डाइभ गर्दै बचाएका थिए ।

यस्तै खेलमा धनगढीले गोल थप्ने मौका पनि गुमायो । आशिष चौधरीले खाली पोष्टमा गोल हान्न सकेनन् । ओलावाले आफिजले चितवनका किपर विशाल श्रेष्ठलाई बिट गर्दै बायाँ भागबाट बक्समा क्रस दिएका थिए । तर मार्की आशिषले फ्रि चान्समा पनि गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

यो जितपछि धनगढीको ५ खेलबाट ११ अंक छ । यो सहित ३ खेल जितेको धनगढी २ खेलमा बराबरीमा रोकिएको थियो ।

दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । पराजित चितवन भने पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्