बहुमत पुर्याउन अरु पार्टीसँग मिल्नैपर्ने बाध्यता छ : देउवा
३ पुस, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।
कांग्रेसको गण्डकी प्रदेश समितिको पहिलो सम्मेलनमा महामन्त्री गगन थापालगायतका नेताहरुले अबको चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने बताउँदा देउवाले भने एक्लै कुनै पार्टीले बहुमत नल्याउने जवाफ दिएका हुन् । यो संविधानअनुसार एक्लै बहुमत पुर्याउन गाह्रो हुने भएकाले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।
अहिले कांग्रेसको आकर्षक सिद्धान्तलाई मानेर सबै पार्टीहरु मिलेर आएको पनि देउवाको भनाइ थियो । पार्टीभित्र गुटबन्दी मौलाएको, नेताहरुले टिकट वितरणमा न्याय नगरेको जस्ता आवाज सम्मेलनमा नेताहरुले बोल्ने क्रममा उठाएका थिए । देउवाले भने पार्टी एक जुट हुनुको विकल्प नरहेको बताए ।
अहिले नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी रहेको भन्दै देउवाले अब अझै ठूलो र बहुममतै ल्याउन सक्ने बनाउनेतिर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले कांग्रेसमा देशैभरि उत्साह देखिएको र प्रदेश सम्मेलनले झनै उत्साह थप्ने उनको भनाइ थियो ।
कांग्रेसको स्थिति के हुन्छ, कस्तो हुन्छ भनेर स्वदेश र विदेशमा पनि चिन्ता भइरहेको देउवाले बताए । पार्टीका सिद्धान्त र आदर्शमा सम्झौता गर्न नसकिने बताउँदै देउवाले पार्टीलाई अझै सुदृढीकरण गरेर लैजानुपर्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्