४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन

१० पुस, काठमाडौं । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् ।

विश्वविद्यालय स्थापनाका लागि डा. जगमान गुरुङको संयोजकत्व रहेको समितिको मंगलबार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् ।

गत चैतमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालय स्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका हुन् ।

समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा. घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषद्‍बाट हुने नीतिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति लिने बताए ।

विश्वविद्यालयले अध्ययन–अनुसन्धानलाई प्रथामिकता दिने गरी प्रारम्भिक रुपरेखा बनिरहेको उनले जानकारी दिए ।

विश्वविद्यालयमा नेपालका सवै धर्म शास्त्रको अध्ययन–अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए ।

यस विश्व विद्यालयमा कम कक्षा र बढी अनुसन्धान गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा. प्रेमबहादुर खत्रीले जानकारी दिए ।

नेपालमुखी अनुसन्धान, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीले बताए ।

विश्वविद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्वविद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पूरा गरेपछि स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितिका अर्का सदस्य कमल ढकालले बताए ।

यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरुको गौरवको विषय भएकोले कुनै प्रकारको ढिला सुस्ती नगर्न क्षेत्र विकास कोषलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्