३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सर्भरमा समस्या आउँदा अधिकांश सरकारी वेबसाइट डाउन

१६ पुस, काठमाडौं । सोमबार देशैभरका अधिकांश सरकारी वेबसाइटका सर्भरहरु बन्द भएका छन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबारबिहान १० बजेदेखि नै अधिकांश सरकारी वेबसाइटहरु सञ्चालनमा आएका छैनन् ।

सरकारी वेबसाइटको डीएनस सर्भरमा समस्या आएकोले साइटहरु बन्द भएका हुन् ।

‘हाम्रो सरकारी साइटहरुमा धेरै ट्राफिक आइरहेका छन् । यसको अर्थ हाम्रो साइटहरुमा कसैले आक्रमण गरिरहेको छ । हामीले अहिले ट्राफिक हटाउने काम गरिरहेका छौं । अत्यधिक ट्राफिक भएका साइट बाहेक अन्य साइट बिस्तारै खुल्दैछन्,’ केन्द्रका सूचना अधिकारी प्रवीण चौहानले भने ।

उनले सरकारी वेबसाइटहरुमा कहाँबाट आक्रमण भइरहेको भन्ने थाहा नभएको भन्दै भीपीएन प्रयोग गरेको हुन सक्ने बताए ।

‘हाम्रो अहिले सुरक्षा उपकरणहरु अपग्रेड पनि भएको छैन, त्यसकारण पनि प्रतीरक्षामा केही समस्या भएको हो । कम आक्रमण भएको बेला चले पनि एकैचोटी धेरै हमला हुँदा साइट डाउन हुन सक्छ,’ चौहानले भने ।

सोमबार बिहानदेखि नै प्रधानमन्त्री कार्यालयदेखि संघीय सरकारका मन्त्रालय तथा कार्यालयहरु, प्रदेश सरकारको कार्यालयहरु र स्थानीय सरकारका साइटहरु बन्द भएका छन् ।

केही स्थानीय तह र कार्यालयको वेबसाइट भने केहीबेर खुल्दै बन्द हुँदै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्