४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल नबनाए मन्त्रालयमै धर्ना दिने उदयपुरका जनप्रतिनिधिको चेतावनी

१९ पुस, काठमाडौं । उदयपुरका जनप्रतिनिधिसहितको टोलीले  चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हा जोड्‍न  भाँचिएको पुलको निर्माण कार्य सुरू नगरे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै धर्ना दिने चेतानवी दिएका छन् ।

बुधबार स्थानीय जनप्रतिनिधिसहित स्थानीय सरोकारवालाहरू हस्ताक्षरसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाउँदै तत्काल भाँचिएको पुल निर्माण कार्य सुरू नगरे धर्ना दिने चेतावनी दिएका हुन् ।

प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले भाँचिएको पुल जसरी पनि बन्‍ने प्रक्रिया पूरा नभएसम्‍म उदयपुर नफर्किने र  मन्त्रालयमै धर्ना दिनेगरी तयारी गरेर आएको बताए । उनले भने, ‘सिवाई-बेल्हा जोड्ने भाँचिएको पुल जसरी पनि बन्‍ने प्रक्रियामा जानुपर्छ । मन्त्री, सचिव, डिजी बोलाएर हुन्छ की के गरेर हुन्छ त्यो काम हुनुपर्छ। मन्त्रिपरिषद्बाट हाम्रै अगाडि पास पुल बन्‍ने बजेट र प्रक्रिया पास हुनुपर्छ । नत्र हामी घर फर्किँदैनौं। मन्त्रालयमै भए पनि धर्ना बस्न हामी तयार छौं।’

यस्तै चौचण्डीगढी-५ का वडाअध्यक्ष तुलसी ढकालले यसअघि कात्तिकमा पुल निर्माणको काम सुरू हुने प्रतिबद्धता खोक्रो वचन भएको भन्‍दै अब भौतिक मन्त्रालयमै धर्ना दि चेतावनी दिए ।

उनले भने, ‘गत साउन १४ गते मन्त्रीले दिनुभएको आश्वासन र वचन पूरा भएन। त्यसकारण हामी सबै जनप्रतिनिधिहरू फेरि संघीय राजधानी काठमाडौं आएका छौं। अब पनि पुल निर्माण सुरू गर्ने सुरसार नदेखाए यही भौतिक मन्त्रालयमै धर्ना बस्‍ने छौं।’

उनले यसपटक मन्त्री र सचिवले झारा टारेर समय लम्ब्याउने कूचेष्टा नगर्न समेत चेतावनी दिए । ‘हाम्रो माग पूरा नभएसम्म हामी एक कदम पनि पछि हट्दैनौ। मन्त्री र सचिवले झारा टारेर पुल निर्माणको समय लब्ब्याउने कूचेष्टा नगरे हुन्छ। हाम्रो माग पुरा नभएसम्म हामी एक कदम पछाडि हट्दैनौ।’

चौदण्डीगढी नगरपालिकाका पुर्वमेयर खगेन्द्र राईले चौदण्डीका जनताको माग सुनुवाई नभइकन आफूहरू गाउँ फर्कन नमिल्‍ने भन्दै अब पुल निर्माणको छिनोफानो नभइकन गाउँ नफर्कने बताए ।

उनले रातोकागजसँग भने, ‘हामीलाई जनताले पुल निर्माणको काम सकाएर मात्रै गाउँ आउनु भनेको छ। यदि यो काम सुनुवाइ नभए कुन मुख लिएर गाउँ फर्कनू ? हामी  जनप्रतिनिधिहरू बरू मन्त्रालयमै  जति पटक भए पनि छलफल गर्न तयार छौं। यदि छलफलमा नमाने यही धर्ना बस्‍न पनि  तयार छौं।’

मन्त्री ज्वालाले उक्त ज्ञापनपत्र बुझ्‍दै चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ मा सिवाई- बेल्हा जोड्ने पुल निर्माणबारे मन्त्रालयमा दिनदिनै छलफल भएकोले निर्माणमा कुनै शंका नगर्न आग्रह गरे ।

उनले भने, ‘चौदण्डीगढी-५का सबै जनप्रतिनिधि, दल र सबै सरोकारवालाहरूलाई म के आश्वस्त पार्न चाहन्छु भने उक्त भत्किएको पुल निर्माणबारे मन्त्रालयमा सधैं झै सचिव, महाशाखा, डिजीसँग छलफल हुन्छ। कहिलेकाही ठाठुक पनि पर्छ मसँग। यो ठाउँको पुल निर्माणको काम नयाँ शिराबाट सुरू हुने चिन्ता मैले लिएको छु। अहिलेलाई यही विश्वास दिलाउन चाहन्छु ।’ साथै उक्त पुलको प्रक्रियामा लैजाने काम भइरहेकोले केही दिनमै डिजीकहाँ फाइल पुग्‍ने मन्त्री ज्वालाले बताए ।

यस्तै सडक विभाग विभागको निर्देशक सुशिलबा बाबु ढकालले उक्त पुलको टेक्निकल समस्‍या समाधान भई टिप्पणी उठाई डिजीकहाँ फाइलमा पुर्‍याउने पक्रियामा रहेको बताए ।  उनले भने, ‘पुल निर्माणबारेको टिप्पणी उठाएर टाइप गर्न बाँकी छ। डिजीकहाँ उक्त फाइल पुग्‍ने प्रक्रियामा छ। यसपछि सबैकाम फत्ते रुपमा बढ्छ।’

यस्तै भौतिक मन्त्रालयका  निमित्त सचिव ई. अर्जुङ जङथापाले सिवाई-बेल्हा जोड्ने पुल सम्पन्न गर्ने गरी प्रक्रियाको अन्तिम चरणमा रहेको बताए । उनले भने, ‘ पुल निर्माणको अन्तिम प्रक्रियामा हामी पुगेका छौं।  अब खाली मन्त्रिपरिषदबाट पुलको भेरिएशन पास गराउन बाँकी छ। यसपछि निर्माण कम्पनीलाई कामको जिम्मा सुम्पनेछैं।’

चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ सिवाई-बेल्हा जोड्‍ने पुल २०६६ सालमा शिलान्यास भई २०७७-०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो । तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ ।

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई-मधेशसँग जोड्ने गर्दछ । साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर, पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ-जाउ गर्न समस्या भएको छ ।

बाढीले क्षति पुगेको पुलमा २५/ २५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ ।

पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बुझाएको ज्ञापनपत्र हेर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्