४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

प्रचण्डविरुद्ध सात वर्षअघि परेको परेको अवहेलना मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउने

२० पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गत १८ मंसीरमा निर्णय सुनाउने भनेपनि मिति सरेर आजका लागि तोकिएको हो । उक्त मुद्दामा आज निर्णय सुनाउने भनी पेशी तोकिएको छ ।

द्वन्द्वकालीन मुद्दावारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ जेठमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाँउ भनी निवेदन दिएका थिए ।

लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । उनीमाथिको आरोप ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्तावसहित उनलाई माफी माग्ने अवसर दिन सक्नेछ । आरोप पुष्टि नभए निवेदन खारेज हुन्छ ।

२०७३ वैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए । त्यतिबेला व्यक्तिहत्याको आरोपमा माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए ।

त्यही आक्रोशमा प्रचण्डले शान्ति प्रक्रिया विरुद्ध अदालत अघि बढ्दैछ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिविरुद्ध तत्कालिन अधिवक्ता त्रिपाठीले अवहेलनाको आरोपमा कारवाही अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्