जन्मकैद सजाय पाएका फरार अभियुक्त २१ वर्षपछि पक्राउ
२ माघ, काठमाडौं। सर्वश्वसहित जन्मकैद सजाय पाएर फरार भएका अभियुक्तलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले धादिङको ज्वालामुखी गाउँपालिका-१का ७० वर्षीय सूर्यबहादुर दवाडीलाई पक्राउ गरेको हो ।
उनलाई विशेष सूचनाको आधारमा माघ १ गते रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार जगनाथदेवल पठाइएको प्रहरीले जनाएको छ ।
दवाडीले २०५० साल फागुन २८ गते श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर हत्या गरेका थिए । उनीविरूद्ध धादिङ जिल्ला अदालतले हत्या अभियोगमा २०६१ साल जेठ ५ गते जन्मकैदको सजाय सुनाएको थियो । तर, उनी फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्