३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

पुलिसको स्पिन सामू मधेशको कमजोर ब्याटिङ

१० माघ, काठमाडौं । दुई स्पिनर ललित राजवंशी र सागर ढकालको उत्कृष्ट बलिङ सामु कमजोर प्रदर्शन गरेपछि मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ९७ रनको सामान्य लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश २४ ओभरमा ९६ रनमा अल आउट भयो । मधेशका कप्तान हरिशंकर साहले ३३ बलमा ४ चौकासहित २२ तथा अरनिको यादवले २६ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाए । अभिषेक तिवारी ११ रनमा नट आउट रहे ।

मूलपानीको स्पिनर सहयोगी पिचमा मधेशका ब्याटर क्रिजमा टिक्न सकेनन् । अघिको खेलमा त्रिवि मैदानमा मधेशले सुदूरपश्चिमसँग ३१९ रन बनाएको थियो । तर मूलपानीमा १ सय रन पनि कटाउन सकेन ।

अनिल साह १, मयन यादव ५, पवन सर्राफ ६, निरज यादव ४ र रुपेश सिंह ५ रनमा आउट भए ।

पुलिसका सागर ढकालले ९ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए । ललित नारायण राजवंशीले ५ ओभरमा २ मेडनसहित १२ रन खर्चेर ४ विकेट लिए । राशिद खानको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्