भरतपुर मेयर कप क्रिकेटमा एक्सपर्ट एजुकेसन चितवनको प्रायोजन
१० माघ, चितवन । भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको ‘मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले गर्ने भएको छ ।
आगामी माघ २६ गतेबाट भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा एक्सपर्टले गर्ने मुख्य प्रायोजनसम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ । एक्सपर्ट एजुकेसन र भरतपुर महानगरपालिकाबीच भएको उक्त समझदारी पत्रमा एक्सपर्टका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र भरतपुर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गरेका छन् ।
सहआयोजक चितवन जिल्ला क्रिकेट संघ रहेको प्रतियोगितामा सहभागी हुने चितवनका १० वटा सामुदायिक विद्यालयलाई एक्सपर्टले आठ लाख साठी हजार बराबरका खेलकुद सामग्री प्रदान गर्न लागेको हो । २० वटा विद्यालय सहभागी हुने यो प्रतियोगितामा एक्सपर्टले १६० खेलाडीलाई जर्सी, १० वटा टिमलाई न्यूनतम खेलकुद सामग्री ९किट०, विजेता एक टिमलाई ६० हजार र उपविजेता एक टिमलाई ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्न लागेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।
“ती सामग्री महानगरको रोहबरमा एक्सपर्टले सम्बन्धित विद्यालयको क्रिकेट टिमलाई हस्तान्तरण गर्ने छ”, अधिकारीले भने– “खेलकुदको विकास विद्यालयस्तरबाटै होस् भनेर यो प्रायोजनमा सहभागी भएका हौँ ।”
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रही २० देशमा ६० भन्दा बढी शाखामार्फत सेवा दिइरहेको एक्सपर्टले अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भरपर्दो, आधिकारिक र विश्वसनीय परामर्श सेवा दिँदै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि धेरै सामाजिक काम गर्दै आएको एक्सपर्टले आगामी दिनमा पनि यसलाई जारी राख्ने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्