४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा

१५ माघ, काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ ।

अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए ।

‘हत्कडीसहित भागेलगत्तै उनीहरुसँग फोन सम्पर्क भएको पनि देखिन्छ, त्यसपछि उम्काउन र भाग्न सल्लाह दिएर डेरा कोठा उपलब्ध गराएर आश्रय दिएको खुलेको छ’, उनले भने, ‘बयानमा पनि उनीहरुले कसुर स्वीकारेका छन् ।’

ठगी मुद्दामा ८ नम्बर इजलासको अगाडि कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला कमल फरार भएका थिए । उनले प्रहरीसँगको बयानमा ‘भोलि फेरि उपस्थित हुनुपर्ने थाहा पाउँदा लामो समय थुनामा बस्नुपर्ने भयो भन्ने लागेर’ भागेको भनेका छन् ।

‘प्रहरी अदालतको काममा व्यस्त भएका बेला एक्कासी त्यहाँबाट भागेर पठाओ चढेर निस्किएको थिएँ’, उनले भनेका छन्, ‘त्यसपछि पारस तामाङलाई फोन लगाएको थिएँ, त्यसपछि मित मोहबहादुर तामाङको कोठामा गएका थियौं ।’

त्यसपछि त्यहीँ भेट भएका रिल्दु तामाङसँग कोठामा बसेको उनले भनेका छन् । पछि प्रहरी आउनसक्छन् भन्ने भएपछि होटलमा बस्नु भन्ने सुझाव अनुसार जडिबुटीस्थित दोलखाली होटलमा बसेको उनले बताएका छन् । त्यहीँबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यसपछि प्रहरीले उनलाई भाग्न सहयोग गर्ने अरु तीन जनालाई पनि नियन्त्रणमा लिएको थियो । प्रहरीले यो विषयमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सरकारी वकिलले अदालतमा समेत मुद्दा दायर गरेको छ ।

मुलुकी अपराध संहिता अनुसार, थुनुवा भगाएको कसुरमा दुई वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । भाग्ने खड्कालाई पनि सरकारी वकिलले यो मुद्दामा प्रतिवादी बनाएको छ ।

खड्काविरुद्ध ठगी सम्बन्धी कसुरमा ५० हजार रुपैयाँ धरौटी माग भएपनि रकम जम्मा नगरेपछि अहिले केन्द्रीय कारागार, सुन्धारामा छन् ।

प्रतिक्रिया दिनुहोस्