४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

विशेष अदालतले भन्यो : कर्मनासा खोला अतिक्रमणबारे फेरि अनुसन्धान गर्नू

१८ माघ, काठमाडौं । विशेष अदालतले अपुरो अभियोगपत्र दायर गरेको भन्दै ललितपुरको कर्मनाशा खोलाको जग्गा अतिक्रमण गर्नेहरु विरुद्ध फेरि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ललितपुरको कर्मनासा खोलाको नक्सा ट्रेस बदल्ने काममा संलग्नहरुमाथि अनुसन्धान गर्न र उनीहरु संलग्न रहेको देखिए मुद्दा चलाउन आदेश दिएको हो ।

कर्मनासा खोलाको जग्गा अतिक्रमणसम्बन्धी मुद्दाको फैसलाका क्रममा विशेष अदालतले भनेको छ, ‘अभियोगपत्रको पृष्ठ ४७ मा नापी कार्यालय, ललितपुरबाट जग्गा बढ कायम गर्ने निर्णयमा कर्मचारीहरु संलग्न भएको देखिएको भन्ने उल्लेख भएको, तर सो निर्णयमा जिम्मेवार संलग्न पदाधिकारी र व्यक्तिहरुका हकमा समेत पुन अनुसन्धान गरी आवश्यक कारवाही गर्नु भनी निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।’

विशेष अदालतले युरो हाउजिङ प्रा.लि.ले भवन बनाउने क्रममा खोला किनारको ५ रोपनी ९ आना जग्गा मिचिएको ठहर गरेको हो । विशेष अदालतले उनीहरुले अतिक्रमण गरेको जग्गा जफत गरेर नेपाल सरकारका नाममा ल्याउन पनि आदेश दिएको छ ।

त्यसमा संलग्न भएको भन्दै उसले गुनीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिब मानन्धर र उज्ज्वल मानन्धरलाई दोषी ठहर गरेको छ ।

उनीहरुबाट एक करोड २७ लाख विगो भराउने निर्णय विशेष अदालतले हरेकबाट १८ लाख १५ हजार रुपैयाँका दरले जरिवाना तिराउनुपर्ने फैसला समेत गरेको छ ।

अख्तियारले उनीहरुसँग दुई करोड २ लाख विगो मागदावी गरेको थियो । अरुलाई मुद्दा चलाए पनि अख्तियारले ट्रेस बदल्ने नापी कार्यालयका कर्मचारीहरु विरुद्ध मुद्दा दायर गरेको थिएन ।

जग्गा अतिक्रमणमा मिलेमतो गरेको आरोप लागेका अरु कर्मचारीहरुले भने सफाइ पाएका छन् । ३० जना भन्दा बढी जग्गाधनी अनि संलग्न भएको आरोप लागेका आठ जना कर्मचारीहरुले पनि सफाइ पाएका छन् । अख्तियारले २६ पुस, २०७७ मा कर्मनासा खोला अतिक्रमणको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्