४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

सांसदलाई निर्वाचन क्षेत्र जान महिनामा ५ दिन समय छुट्याइने

१९ माघ, काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रको गतिविधिमा संलग्न हुनका लागि महिनामा पाँच दिन सम्म समय दिइने भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा सिंहदरवारमा बसेको सबै राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय लिएको हो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार बैठकमा सभामुख घिमिरेले प्रस्तावित संसदीय क्यालेन्डर प्रस्तुत गरेका थिए । प्रस्तावित क्यालेन्डरमा नियमित रुपमा संसदका गतिविधि रहने उल्लेख थियो । सातामा तीन दिन सभाको बैठक चलाउने र तीन दिन संसदीय विषयगत समिति चलाउने प्रस्ताव छ ।

यसो गर्दा सांसदहरु निर्वाचन क्षेत्रको गतिविधिसँग जोडिन नपाउने भनी प्रमुख सचेतक र सचेतकहरुले समय छुट्याउनुपर्ने प्रस्ताव गरेका थिए । ‘एक महिनामा ४/५ दिन सांसदलाई निर्वाचन क्षेत्रमा पुग्नका लागि समय छुट्याउने गरी संसदीय क्यालेन्डर परिमार्जन गर्ने प्रस्ताव प्रस्तुत भए । जसलाई समावेश गरेर सभामुखले कार्यतालिका तय गर्ने तय (निर्णय) भएको छ।’ प्रमुख सचेतक गिरीले अनलाइनखबरसँग भने ।

यसअघि सांसदहरुले संसद चलिरहँदा निर्वाचन क्षेत्रमा हुने गतिविधिमा संलग्न हुन नपाएको गूनासो गर्ने गरेका थिए । त्यसलाई समेत सम्बोधन गरेर संसदीय क्यालेन्डर बनाउन लागिएको हो ।

संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरू हुँदैछ । यो अधिवेशनमा संसदीय क्यालेन्डर बनाएर लागू गर्ने पनि सभामुख र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको निर्णय छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारका अनुसार संसदीय क्यालेन्डर लागू गर्ने विषय र संसदीय क्यालेन्डरको स्वीकृति प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले औपचारिक रुपमा गर्नेछ ।

संसदीय क्यालेन्डर लागू भएपछि कानुन निर्माणमा नयाँ थिति बस्ने विश्वास आफूहरुलाई रहेको उनले बताए । उनले पथे, ‘संसदको कामकारबाही आकस्मिक रुपमा समेत आउने हुन्छन् । तर, विधेयकलगायतका सन्दर्भमा संसदीय क्यालेन्डर लागू भएपछि एक खालको थिति बस्छ भन्ने विश्वास छ ।’

शुक्रबार बसेको सभामुख र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले हिउँदे अधिवेशनबाट विद्युतीय हाजिरी लागू गर्ने निर्णय पनि लिएको छ । राष्ट्रिय सभाले भने यसअगाडि देखि नै विद्युतीय हाजिरी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्