४ आश्विन २०८१, शुक्रबार
राजनीति समाचार समाज

रास्वपाप्रति गगनको टिप्पणी : इतिहास र संघर्षका दिनलाई मेटाउने काम गरिरहेको छ

२६ माघ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको बताए ।

‘अहिले एउटा प्रवृत्ति आएको छ । जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ । जसले निर्वाचनमा भग लिएको जस्तो देखिन्छ तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ । यसले हाम्रो संघर्षका दिनहरुलाई डिसमिस गर्दछ,’ उनले भने, ‘ यसले गणेशमान मान्दैन, यसले बिपी कोइराला मान्दैन । यसले २०४६ सालको आन्दोलन मान्दैन । यसले ०६२ सालको आन्दोलन मान्दैन । यसले हाम्रो संघर्षको उपहास गर्दछ । यसले विधि, प्रक्रिया मान्दैन ।’

उनले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिझ्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । ‘म जादुगर हुँ भनेर आउँछ । यो पनि यो लोकरिझ्याइँको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ ।’ उनले भने ।

उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताए ।

उनले भने, ‘संविधान माथिको प्रहारहरु छ भनेर यसको विवेचना गर्ने यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो ।’

महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए । उनले देश सम्हाल्ने काम कांग्रेसको भएको बताए । सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्