५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

पर्यटनमन्त्री सुदन किराँतीले आफैं सफा गरे कार्यकक्ष

४ फागुन, काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् ।

सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ । सधैंझैं निलो रंगको सुट लगाएका मन्त्री किराँतीले टेबलहरु पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको र त्यो काममा एक महिलाले सघाइरहेको देखिन्छ ।

मन्त्री किराँतीको प्रेस संयोजकको भूमिका निर्वाह गर्दै आएका राजन राईले उक्त भिडियो आज बिहानको भएको बताए । कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको उनले बताए ।

उनले भने, ‘मन्त्री ज्यु सधैं बिहान साढे सात बजे नै मन्त्रालय पुग्नुहुन्छ । मन्त्री चाँडै आएपछि कार्यालय सहयोगी लगायतका कर्मचारीहरु पनि आउनुपर्यो । उहाँहरुले कहिलेकाहिँ सफा गर्न भ्याउनुहुन्न । आज त्यस्तै भयो । त्यही भएर मन्त्रीज्यूले आफ्नो च्याम्बर आफैं सफा गर्नुभयो ।’

भोजपुरका हिरन राईले आफ्नो फेसबुकमा ‘सुदन किराँती देख्दा गर्वले आँसु आयो, बिहानै ७:३० बजे मन्त्रालय फस्ता मैले जे देखें’ लेख्दै मन्त्री किराँतीले कार्यकक्ष सफा गरिरहेको भिडियो पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्