५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने

५ फागुन, गोरखा । गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको बहुमूल्य ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ ।

शनिबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले धार्मिक र पर्यटकीय हिसाबले गोरखा दरबारमा राख्न उचित हुने निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो । यसअघि उक्त ढुंगा गोरखा दरबारमा वा संग्रहालय कहा राख्ने भन्ने बिषय अन्योल थियो ।

‘त्यो ढुंगा गोरखामै राख्ने भन्ने मन्त्रीपरिषदबाट निर्णय भइसक्यो भन्ने कुरा थियो, तर म आएर माथि बुझ्दा त्यसको औपचारिक प्रस्ताव पनि नआएको र निर्णय पनि नभएको भन्ने थाहा भयो’, प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘स्थानीयको सेन्टिमेन्टको हिसाबले गोरखामै राख्नुपर्छ भनेर मैले मेरो तर्फबाट पनि सक्दो पहल गर्दै नियमित फलोअप जस्तै गरेँ । हिजो बल्ल उक्त ढुंगा गोरखामै राख्ने मन्त्रिस्तरको निर्णय भएको छ भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हामीलाई पत्र आयो ।’

शुक्रबार मन्त्रीस्तरको निर्णयको जानकारी आएको र स्थानीय तहको व्यवस्थापनमा आवश्यक सुरक्षासहित उचित स्थानमा संरक्षण गरेर राख्न भनिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

‘उक्त ढुंगा अब गोरखामै राख्ने भन्ने आधिकारिक निर्णयसहित हिजो हामीलाई पत्र आयो । गोरखा दरबार राख्ने कि संग्रहालय भन्ने बिषयमा धेरै अल्झिन हुदैन भनेर आजै मैले सर्वपक्षीय बैठक बोलाएँ, सबैको सहमतिले गोरखा दरबारमा राख्ने निर्णय गर्‍यौं ।’

गोरखा दरबार परिसरमा सर्वसाधारणले देख्ने गरी उक्त ढुंगा विशेष सुरक्षाका साथ राखिने उनले जानकारी दिए ।

‘दरबार आउने सबै भक्तजनले देख्न मिल्ने गरी उपयुक्त स्थान हेरेर बुलेट प्रुफ सिसाभित्र त्यो ढुंगालाई उचित सुरक्षासहित राख्छौ, व्यवस्थापनको सम्पूर्ण जिम्मा गोरखा नगरपालिकाको हुन्छ, सुरक्षाको जिम्मा प्रशासनले लिन्छ’, प्रजिअ दाहालले भने । आइतबारदेखि नै ढुंगा व्यवस्थापनमा लाग्ने उनले जानकारी दिए ।

गत असार १४ गते प्रहरीले गोरखा सदरमुकाम नजिकै सतिपीपलस्थित एक घरबाट क्वार्ज क्रिष्टल बरामद गरेको होे । महँगो मूल्यमा किनबेच हुन लागेको सूचना पाएपछि घरबाटै बरामद गरेर ल्याएको प्रहरीले बताउँदै आएको छ । खानी तथा भूगर्भ बिभागबाट आएका भूगर्भविदहरुले परीक्षण गरी उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर रहेको बताएका थिए ।

५४ केजी तौलको उक्त ढुंगा नेपालमा बिरलै पाइने जानकारी गराउँदै उक्त ढुंगा विभागमा पठाउन समेत आग्रह गरिएको थियो । तर जिल्लाका सरोकारवालाहरुले भने उक्त ढुंगा गोरखामै राख्नुपर्ने माग राख्दै आएका थिए

प्रतिक्रिया दिनुहोस्