३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

७ महिनापछि बल्ल संघीय संसदले बनायो दुईवटा कानुन

१८ फागुन, काठमाडौं। शुक्रबार संघीय संसदबाट दुई वटा विधेयक पारित भएको छ ।

प्रतिनिधि सभाबाट पास भएर गएको सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

२७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक २४ माघ २०८० मा पास भएर राष्ट्रिय सभामा गएको थियो । राष्ट्रिय सभाले स्वीकार गरेसँगै यो विधेयक संघीय संसदको दुबै सदनबाट पारित भएको हो ।

अब राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधि सभामा जान्छ । राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधि सभाबाट स्वीकार भएको खण्डमा सभामुखबाट प्रमाणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुनेछ ।

शुक्रबार प्रतिनिधि सभाले पनि राष्ट्रिय सभाबाट पास भएर गएको अनुगमन तथा मूल्यांकन विधेयक पारित भएको छ ।

२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पास भएर प्रतिनिधि सभामा पुगेको थियो । प्रतिनिधि सभाले शुक्रबार पारित गरेसँगै यो विधेयक संघीय संसदको दुबै सदनबाट पारित भएको हो ।

अब यो विधेयक प्रतिनिधि सभाबाट पारित भएको सन्देश राष्ट्रिय सभामा जान्छ । प्रतिनिधि सभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुनेछ ।

४ मंसिर २०७९ मा भएको प्रतिनिधि सभा सदस्यको चुनावपछि संघीय संसदले बनाएको यी दुई वटा कानुन दोस्रो र तेस्रो हो ।

यसअघि १२ साउन २०८० मा संघीय संसदबाट पारित भएर गएको मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । मिटरब्याज समस्या समाधान सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने उक्त ऐन ४ मंसिर २०७९ मा भएको प्रतिनिधि सभा सदस्यको चुनावपछिको पहिलो ऐन हो ।

पहिलो ऐन बनेको सात महिनापछि संघीय संसदले थप दुई वटा ऐन बनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्