३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

कानुन समितिको बैठक पनि स्थगित

२१ फागुन, काठमाडौं । दलहरु आन्तरिक छलफलमा व्यस्त भएपछि कानुन समितिको बैठक पनि स्थगित भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउन आज बिहान ७ :४५ बजे समितिको बैठक बोलाइएको थियो ।

निर्धारित समयको एक घण्टासम्म बैठक सुरु हुन नसकेपछि समितिका सचिव अधिराज राईले स्थगित भएको जानकारी दिएका हुन् । नेपाली कांग्रेसका केही सांसदहरु समयमै बैठक कक्षमा पुगेका थिए तर अरु सांसद समयमै पुगेनन् । र, एक घण्टापछि बैठक स्थगित भएको छ ।

सत्ता गठबन्धनमा आएको खटपटसँग बिहानैदेखि एमाले, माओवादी र रास्वपा आन्तरिक गृहकार्यमा लागेपछि समिति बैठक पनि प्रभावित भएको हो ।

आजै बिहानका लागि तय भएको सत्ता गठबन्धनको बैठक पनि स्थगित भएको छ ।

समिति सभापति विमला सुवेदी, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका सचेतक महेश बर्तौला छुट्टै छलफलमा बसेका थिए ।

सभापति सुवेदीको कक्षमा बसेको बैठकमा मानवअधिकार उल्लंघनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने कि प्रतिशत नै तोकेर जाने ? भन्ने विषयमा छलफल भएको थियो । तर यसमा सहमति नजुटेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्