मन नपरेको मन्त्रालयको जिम्मा नारायणकाजीलाई
२३ फागुन, काठमाडौँ । लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिनुभएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ दोस्रो पटक उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीकारुपमा परराष्ट्र मन्त्रालयको नेतृत्वमा पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात र उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिका रहेका थिए । प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ विस्तार गरेको मन्त्रिपरिषद् गठनमा उनी उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीमा नियुक्त भएका हुन् ।
यसअघि उनले गत चैत १९ गतेदेखि गृह मन्त्रालयको नेतृत्व सम्हालेका थिए । त्यसअघि उनी २०६८ सालमा डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री बनेका थिए । त्यसपछि भने उनले परराष्ट्र मन्त्रालयमा इच्छा देखाएका थिएनन् । तर, एमालेसँग गठनबन्धन गरेपछि उनकै भागमा परराष्ट्र मन्त्रालयमा आइपरेको छ ।
माओवादीका एक नेता भन्छन्, ‘उहाँले गृहबाहेक अरू मन्त्रालयमा रूची राख्नु भएकै थिएन। तर गठबन्धन बनेको उहाँलाई जसरी भए पनि मन्त्री बन्नै पर्ने देखिएपछि परराष्ट्रको जिम्मेवारी दिइएको हो ।’
हाल राष्ट्रियसभा सदस्यका रूपमा रहेका उनको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रूपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारी भएको हो ।
उनले विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । २०४२ सालमा नेकपा (चौम)को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र)का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी)को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेताको भूमिका निर्वाह गरेका थिए । उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य एवं प्रवक्ताको भूमिकामा पनि थिए ।
संविधानसभा सदस्यसमेत रहिसकेका श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित भएका हुन् । उनका विभिन्न कृति र लेखहरू प्रकाशित छन् । २०३३, २०३६ र २०४२ सालमा पटकपटक उनले जेलजीवन बिताएका छन् ।
ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा संयोजन गर्ने कुशल संयोजकका रूपमा उनलाई लिइन्छ ।
तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उहाँको एकाएक चर्चा भएको थियो ।
विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरूबीच भएको १२ बुँदे सहमति गराउनमा उनले खेलेको कुशल संयोजनकारी भूमिकाले उहाँलाई आन्दोलनकारीबीच थप चर्चामा पुर्याएको थियो ।
अठार वर्ष भूमिगत भएका नेता श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक भएका थिए । उनले केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिकका सम्पादकका रूपमा काम गरे ।
प्रतिक्रिया दिनुहोस्