५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाइन् केन्द्रीय समिति बैठक

२८ फागुन, धनगढी । पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेपछि नागरिक उन्मुक्ति पार्टी-नाउपा)को पहिलो बैठक सोमबार बस्दैछ ।

चौधरी नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधता नदिएर पुरानै समितिलाई निरन्तरता दिएपछि अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएकी हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितका अनुसार बैठक दिउँसो १ बजे टीकापुरमा बोलाइएको जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डा राखिएको छ ।

संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका विषयमा समेत बैठकले आवश्यक निर्णय लिने पण्डितले बताए । तर, पार्टी अध्यक्ष श्रेष्ठ काठमाडौंमा छिन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी हुन् । अध्यक्ष बिरामी भएपछि बैठक प्रभावित हुने आशंका गरिए पनि श्रेष्ठले जसरी पनि टीकापुर पुग्ने बताउँदै सबैलाई जम्मा हुन भनेकी छन् ।

‘अध्यक्ष ज्यू बिरामी भएर अस्पताल भर्ना हुनुभएको खबर आएको छ तर उहाँले म जसरी पनि आउँछु भन्नुभएको छ,’ पण्डितले भने, ‘पार्टीका संस्थापक सबै जम्मा भइरहेका छौं । हेरौं के हुन्छ ।’

पण्डितले अध्यक्ष श्रेष्ठलाई गम्भीर स्वास्थ्य समस्या नभए पनि सुगर, प्रेसर बढेकाले अस्पताल भर्ना भएको बताए ।

स्वास्थ्य समस्याका कारण श्रेष्ठ कैलाली आउन नपाएपछि भने बैठक स्थगित हुने एक पदाधिकारीले बताए ।

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट राज्यमन्त्रीसहित तीन जना मन्त्री थपेपछि उक्त पार्टीमा विवाद सिर्जना भएको छ ।

अध्यक्ष श्रेष्ठले नेतृत्वसँगको सल्लाहबिना सरकारमा गएको भन्दै तत्काल फिर्ता हुन निर्देशन दिएकी थिइन् भने उनका श्रीमान् समेत रहेका नाउपा संरक्षक रेशम चौधरीले सरकारलाई समर्थन कायमै हुने भन्दै राम्रो काम गर्न निर्देशन दिएका छन् । सोही विषयलाई लिएर नाउपामा विवाद देखिएको छ ।

रेशम अहिलेकै सरकारलाई समर्थन गरेर अघि बढ्नु पर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठ नयाँ गठबन्धनमा सहभागी हुनु पर्ने अडानमा रहेकी छन् ।

मुख्यमन्त्री शाहले नाउपासहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर आफू नेतृत्वको सरकारलाई बहुमत पुर्‍याउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्