त्रिभुवन विश्वविद्यालयले चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने
३० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनमार्फत दिने भएको छ ।
कार्यालयका प्राविधिक प्रमुख दीपक शाहीले चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनबाट दिने गरी तयारी भइरहेको बताए ।
‘आउँदो महिनाबाट पूर्ववत योजना अनुसार अनलाइन आवेदन लिने र उपत्यकाको लागि बल्खुबाट र अन्य क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गर्ने गरी काम गर्दैर्छौं’, उनले अनलाइनखबरसँग भने ।
यसअघि परीक्षा नियन्त्रण कार्यालयले १५ माघबाटै अनलाइनमार्फत सेवा दिन सुरु गरेको घोषणा गरेको थियो । तर त्यसै दिन वेबसाइट ह्याक भएपछि सेवा अवरुद्ध भएको थियो । वेबसाइट सञ्चालन भएपछि कार्यालयले अनलाइनमार्फत आवेदन संकलन मात्र गर्दै आइरहेको छ ।
कार्यालयका प्राविधिक प्रमुख दीपक शाहीले भने, ‘हाललाई विद्यार्थीले अनलाइन अप्लाई गर्ने र कार्यालयले जाँच गरेर नपुग भएको कागजातबारे जानकारी दिने तर शैक्षिक प्रमाण पत्र भने भौतिक रुपमा बल्खुबाटै वितरण भइरहेको छ ।’
अहिले विद्यार्थीको ट्रान्सक्रिप्ट, प्रोभिजनल र पुनर्योग (रिटोटलिङ) को लागि अनलाइन आवेदन लिने र भौतिक रुपमा सेवा दिइरहेको शाहीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्