६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

फरार जीवन चलाउनेको आयोगसमक्ष बयान : सीआईबीमा ४ घण्टा बिताएँ

फरार जीवन चलाउनेको आयोगसमक्ष बयान : सीआईबीमा ४ घण्टा बिताए

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगमा आफूले केन्द्रीय अनुसुन्धान ब्यूरोे (सीआईबी) मा चार घण्टा बयान दिएकोे बताएको पाइएको छ ।

सीआईबीले भने चलाउनेलाई फेला पार्न नसकेको दाबी गर्दै उनलाई फरार उल्लेख गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेश गरेको थियो ।

तर फरारै रहेको अवस्थामा पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको उच्चस्तरीय जाँचबुझ आयोग समक्ष बयान दिएका चलाउनेले सीआईबीमा गएर चार घण्टा बयान दिएको बताएको प्रमाण अनलाइनखबरले पाएको छ ।

फरार अवस्थामा नै चलाउनेले इमेलमार्फत आयोगसमक्ष बयान दिएका थिए । उक्त बयानमा चलाउनेले भनेका छन्, ‘मुद्धाको अनुसन्धानको क्रममा दावा समेतलाई पक्राउ गरिसकेपछि मिति २०८० भदौ २० गतेका दिन मलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट फोन आएको थियो । सो फोनमा तपाईं सीआईबी उपस्थित हुनु भने बमोजिम म सीआईबीको मुद्धा शाखामा गई सिसी क्यामेरासहित राखेको ठाउँमा चार घण्टासम्म मैले आफ्नो भएको ब्यहोरा बताई बयान गरिसकेको थिएँ ।’

चलाउनेले आयोगलाई इमेलमार्फत पठाएको बयानमा उनले सीआईबीका एसपी संजयसिंह थापासमक्ष बयान दिएको खुलाएका छन् । सो क्रममा रमेश बजगाईँ नाम गरेका प्रहरी कर्मचारीसमेत सँगै रहेको चलाउनेको बयानमा उल्लेख छ ।

ठमेलमा रहेको भियना होटलका सञ्चालक तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ पक्राउ परेपछि चलाउनेको भूमिका शंकास्पद देखिएको थियो । दावाको मोबाइल डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा जाँच भएर रिपोर्ट आएपछि चलाउने सुन प्रकरणमा जोडिएका थिए ।

चलाउनेले सीआईबीमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समेत संलग्न रहेको भन्दै बयान दिएपछि बयान कागज समेत च्यातिएको विषय भने आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यद्यपि चलाउनेले भने आफू निर्दोष भएकाले सीआईबीले छाडेको दाबी गर्दै आयोगसमक्ष बयान दिएका छन् । चलाउनेले सीआईबी गएर बयान दिएको तर पर्याप्त प्रमाण हुँदाहुँदै पनि सीआईबीले पक्राउ नगरी फरार बनाएको भन्दै सीआईबीको प्रमुख तथा एआईजी किरण बज्राचार्यसहितका व्यक्तिलाई विभागीय कारबाही गर्न आयोगले समेत सिफारिस गरिसकेको छ ।

बज्राचार्यसँगै एसपी सञ्जयसिंह थापा, डीएसपी रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।

हेर्नुहोस् जीवन चलाउनेले इमेलमार्फत आयोगमा पठाएको बयान

 

 

प्रतिक्रिया दिनुहोस्