४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

व्यापारी दिपक मल्होत्रासँग सुन आयोगले डेढ घन्टा बयान लिएको खुलासा, नोटिसमा राख्न सिफारिस

६ चैत, काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले व्यवसायी दिपक मल्होत्रासँग डेढ घन्टा बयान लिएको खुलासा भएको छ ।

सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर आयोगले मल्होत्राको गुपचुप बयान लिएको गृह मन्त्रालय उच्च स्रोतले पुष्टि गरेको छ । झण्डै एक महिना अघि मल्होत्रासँग लिइएको बयान आयोगको प्रतिवेदनमा समेत समावेश छ ।

स्रोतका अनुसार, गएको बिहीबार आचार्य नेतृत्वको आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको जाँचबुझ आयोगको प्रतिवेदनमा मल्होत्रालाई राज्यको नोटिस (जानकारी) मा राख्न समेत सिफारिस गरिएको छ ।

‘आयोगले सुन तस्करीमा मुद्दा चलाउनुपर्ने, विभागीय कारबाही गर्नुपर्ने, थप अनुसन्धान गर्नुपर्ने, राज्यले नोटिसमा राख्नुपर्ने शीर्षकमा वर्गीकरण गरेर व्यक्तिहरुको सूची प्रतिवेदनमा समावेश गरेको रहेछ’, मन्त्रालय उच्च स्रोतले भन्यो, ‘त्यसमध्ये नोटिसमा राख्नुपर्ने सूचीमा दिपक मल्होत्रा समेत छन् ।’

मोरङको उर्लाबारीमा २०७४ सालमा सुन तस्करका भरिया सनम शाक्य मारिएपछि ३३ किलो सुन प्रकरण सतहमा आएको थियो । शाक्यको हत्याबारे छानबिन चलिरहँदा प्रहरीले वास्तविक आरोपितलाई भगाएको सूचना हिरासतमा रहेका अभियुक्तको परिवारमार्फत प्रधानमन्त्रीसम्म पुगेको थियो ।

यसपछि गठित गृह मन्त्रालयका सह–सचिव ईश्वराज पौडेल नेतृत्वको छानबिन समितिले गरेको अनुसन्धान मल्होत्रासम्म पुगेको थियो । तर, त्यहिबेला मल्होत्रा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा गएका थिए ।

फर्किएर आउँदा समितिले थप अनुसन्धान गर्न म्याद पाएन । बरु प्रतिवेदन तयार गरेर बुझाउन दबाब आयो ।

पछि सहसचिव पौडेलले भारतको कोलकातामा महावाणिज्यदूत भएर जाने अवसर पाए भने तत्कालीन एसएसपी वसन्त लामा काठमाडौं प्रहरी प्रमुख बनाइए ।

स्रोतका अनुसार, समितिले बुझाएको प्रतिवेदनमा २९३ जना शंकास्पद व्यक्तिहरुको सूची राखिएको थियो । त्यसमा मल्होत्राको नाम समेत थियो । यद्यपि, हालसम्म समितिको प्रतिवेदन सार्वजनिक भएको छैन ।

कतिसम्म भने पूर्वन्यायाधीश आचार्य नेतृत्वको आयोगले समेत प्रतिवेदनको पूर्णपाठ प्राप्त गर्न सकेन । समितिले तत्कालीन उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी दिवेश लोहोनी, श्याम खत्री, पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल लगायतलाई समेत पक्राउ गरेको थियो ।

उनीहरुमाथि सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’लाई सघाएको आरोप थियो । समिति स्रोतका अनुसार, तस्करीका नाइकेतर्फ अनुसन्धान गरिरहँदा छानबिन समिति मल्होत्राका व्यवसायिक साझेदार विमल पोद्दारसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्