४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पूर्वराजदूत बोलाएर परराष्ट्रमन्त्री श्रेष्ठले मागे सुझाव

७ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजदूतहरुसँग छलफल गरेका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले बुधबार नेपालबाट विभिन्न देशमा राजदूतको जिम्मेवारी सम्हाली सेवानिवृत्त भएका पूर्वराजदूतहरुलाई मन्त्रालयमा बोलाएर सुझाव मागेका हुन् ।

छलफलका क्रममा परराष्ट्र मन्त्रालयलाई सुदृढ पार्ने, मन्त्रालय र दूतावासबीचको समन्वय र छिमेकी देशहरुसँगको सम्बन्ध लगायत विभिन्न विषयमा कुराकानी भएको छलफलपछि पूर्वराजदूतहरुले बताएका छन् ।

मन्त्रीसँगको छलफलपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै बगंलादेशका लागि नेपालका पूर्वराजदूत मोहन लोहनीले पूर्वराजदूतहरुले राजनीतिक स्थायित्व हुनुपर्ने कुरामा जोड दिएको बताए ।

नेपालको अहिलेसम्मको विदेश नीति सकारात्मक दिशामा रहेको र यसलाई अझ सुदृढ पार्न सुझाव दिएको पनि बताए ।

‘अहिलेसम्मको हाम्रो विदेश नीति राम्रै दिशामा गएको छ । अझ सुदृढ पार्नका लागि के स्टेपहरु, के मेजरहरु लिन सकिन्छ, उहाँ (उपप्रधानमन्त्री श्रेष्ठ) ले पूर्वराजदूतहरुसँग पनि अपेक्षा गर्नुभएको छ । परराष्ट्र मन्त्रालयको महत्वलाई बुझाउने काम म गर्छु भन्नुभएको छ’

इजिप्टका लागि नेपालका पूर्वराजदूत डा. रामभक्त ठाकुरले परराष्ट्रमन्त्रीले परराष्ट्र नीतिलाई सुधार गर्ने सम्बन्धमा सुझाव मागेको बताए । उनले छिमेकी देशहरुसँगको सम्बन्धलाई प्राथमिकता दिँदै अमेरिकाको बढ्दो उपस्थितिलाई पनि व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्