मिस नेपाल-२०२४ को आवेदन खुला
१४ चैत, काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै यस वर्षको संस्करणको घोषणा गरेको हो ।
मापदण्ड पुगेका इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।
५ फिट ३ इन्च उचाइ भएका तथा १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित नेपाली नागरिक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । भाग लिन शुल्क नलाग्ने हिडन ट्रेजरले उल्लेख गरेको छ ।
यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई फराकिलो बनाउन पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा अडिसन आयोजना हुने भएको छ । अन्तिम अडिसन मे १८ मा हुने जनाइएको छ । इच्छुकले मिस नेपालको वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।
यस वर्ष मिस नेपाल आयोजनाको ३० औं वर्षगाँठ पनि मनाउने कार्यक्रम छ । यसैवर्षदेखि हिडन ट्रेजरले पुरुष सौन्दर्य प्रतियोगिता पनि आयोजनाको तयारी गरेको छ । संस्थाका प्रबन्ध निर्देशक प्रमोद कंसाकारले चाँडै यसबारे विस्तृत जानकारी दिइने जनाए । सन् १९९५ मा पनि संस्थाले पुरुष सौन्दर्य प्रतियोगिता आयोजना गरेको स्मरण उनले गरे ।
कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी, मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाह र मिस नेपाल अर्थ २०२३ रेना मजगैयाँले गत वर्षको अनुभव बाँडेका थिए ।
यस वर्षको संस्करणमा पनि डाबर वाटिका लगातार तेस्रो वर्ष मुख्य प्रायोजक छ ।
प्रतिक्रिया दिनुहोस्