भक्तपुरको प्रसिद्ध बिस्का : जात्रा आजदेखि सुरु
२७ चैत, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्का: जात्रा (बिस्केट जात्रा) आज चैत २७ गतेदेखि सुरु भएको छ ।
। सरकारी पूजा बिहान ११ बजे र सर्वसाधारणको पूजा दिउँसो ३ बजेभित्र सकिएपछि भैरवको रथ तान्न सुरु गरिएको छ । योसँगै भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सुरू भएको गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् ।
नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको यो:शि उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ ।
संस्थानकी प्रमुख वलीका अनुसार जात्राका लागि अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै तयारी पूरा भएको र गुठी संस्थान भक्तपुरले रथयात्राको सम्पूर्ण खर्च व्यवस्थापन गरेको छ ।
लिच्छवीकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ ।
तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।
चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्राएपछि बिस्का: जात्रा सुरु हुने परम्परा छ ।
रथ तान्ने क्रममा टोलवासीबीच ढुंगा हानाहान र झडप हुने गरेकाले शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जात्रालाई मर्यादित बनाउन मदिरा बिक्रीवितरणमा रोक समेत लगाइएको छ । जात्रा सुरु हुनुपूर्व शान्ति र सद्भावको कामना गर्दै भक्तपुर नगरपालिकाले बिहान दत्तात्रय मन्दिरदेखि न्यातपोलसम्म र्याली आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्