१२ मंसिर २०८१, बुधबार
मुख्‍य समाचार समाचार समाज

इलाम र बझाङमा उपनिर्वाचनको आचारसंहिता लागू, क-के गर्न पाइदैन ?

२८ चैत, काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ ।

इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१)मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आचारसंहिता मतदान सम्पन्न नहुन्जेलसम्म लागू हुनेछ । मतदान आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ (१)मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबै उम्मेदवारहरुलाई मंगलबार निर्वाचन चिह्न वितरण गरिएको थियो ।

बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएकाले कुनै सार्वजनिक स्रोत, साधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन ।

आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेद्वार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान पाउने छैनन् ।

संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् । उनीहरुले आफ्नो कार्यालय र आवास कुनै पनि उम्मेदवारहरुलाई प्रयोग गर्न दिन पाउने छैनन् ।

आचारसंहिताले सरकारी कर्मचारीलाई पनि कुनै दलको पक्ष वा विपक्षमा लाग्न निषेध गरेको छ । कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न पनि नपाउने व्यवस्था छ ।

सार्वजनिक संस्थान र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई समेत यही नियम लागू हुनेछ । कुनै परियोजना वा विकास समितिमा आवद्ध कर्मचारीले पनि दल र उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न नपाउने आचार संहितामा व्यवस्था छ ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकाय र सुरक्षासम्वद्ध कर्मचारीले कुनै पनि उम्मेदवारको पक्षविपक्ष लिन नहुने नियम छ ।

विश्वविद्यालयदेखि विद्यालयसम्म काम गर्ने अध्यापकले पनि तटस्थता अपनाउनुपर्नेछ । उनीहरुले कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल समेत प्रयोग गर्न पाउने छैनन् ।

गैरसरकारी संस्थाहरुले कुनै नयाँ योजना सुरुवात गर्न, शिलान्यास गर्न र उदघाटन लगायतका काम गर्न पाउने छैनन् । यस्ता संस्थाका स्रोतसाधन राजनीतिक प्रचारप्रचारका क्रममा प्रयोग गर्न रोक लगाइएको छ ।

आचारसंहितामा राजनीतिक दलहरुले सभ्य र अनुशासित भई चुनाव प्रचारप्रसार गर्नुपर्ने नियम बनाइएको छ । प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्