३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय समाचार

रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते

३० चैत , काठमाडाै । रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको । रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्यूजले जनाएको छ ।
 लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेबार रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।
यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । गत वर्षको समान अवधिमा डकैती विरुद्धको प्रतिरोधमा २५ जनाको मृत्यु भएको थियो भने एक सय १० जना घाइते भएका थिए ।
सन् २०२३ को समान परिस्थितिमा एक सय आठ जनाको मृत्यु र  चार सय ६९ जना घाइते भएको तथ्याङ्क छ ।
कराँची प्रहरीको यस वर्ष लुटेराहरूसँग चार सय २५ मुठभेड हुँदा ५५ लुटेरा मारिएको र चार सय ३९ घाइते भएका छन् । नागरिक–प्रहरी सम्पर्क समिति (सिपिएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा २२ हजार छ सय २७ अपराध दर्ता भएका थिए ।
 यसमा ५९ को मृत्यु र लुटपाटको प्रतिरोधमा सात सय जनालाई चोट लागेको थियो ।
यसका अतिरिक्त यस अवधिमा तीन सय ७३ कार, १५ हजार नौ सय ६८ मोटरसाइकल र छ हजार एक सय दुई मोबाइल फोन चोरी वा लुटपाट भएको सूचना प्राप्त भएको छ ।
एआरवाई न्युजका अनुसार सिपिएलसीको प्रतिवेदनमा कराँचीमा २५ वटा जबरजस्ती असुलीको घटना र फिरौतीका लागि पाँचवटा अपहरणका घटना पनि रेकर्ड गरिएको छ ।
कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताएका छन् । उनले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा करिब चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक तत्व भेला हुने गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्