५ माघ २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

चार प्रदेशमा वर्षाको सम्भावना

४ वैशाख, काठमाडौँ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदू्रपश्चिम प्रदेशका केही स्थान तथा अन्य बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । ती प्रदेशका हिमाली उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिउँपर्ने महाशाखाको पूर्वानुमान छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी प्रदशेका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ ।

कोशी प्रदेशको पहाडी क्षेत्रका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्