माधव नेपालले गरे फिल्ममा अभिनय
४ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फिल्ममा अभिनय गरेका छन् । रमित ढुंगाना निर्देशित‘नमेटिने घाउ’को छायांकनमा माधव नेपालको छायांकनमा उनले मंगलबार बिहान एक घण्टा बिताए ।
कोटेश्वर बहुमुखी क्याम्पसको प्रांगणमा छायांकन भएको फिल्ममा नेता नेपालले केही डायलग पनि बोले ।
उनलाई निर्देशन गराउन निकै सजिलो भएको निर्देशक ढुंगानाले बताए । एसिडको प्रयोगलाई रोक लगाउनुपर्ने र एसिड आक्रमणकारीलाई कारवाही हुनुपर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेको कथाको सन्दर्भममा आजको छायांकन भएको हो ।
अभिनय गर्दै नेता नेपालले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता समेत जनाए । उनले यसका लागि आफूहरु लागिपर्ने भन्दै डायलग बोलेका थिए ।
‘यताउति गरेर उहाँको दृश्य खिच्न एक घण्टाजति लाग्यो । उहाँलाई काम गराउन निकै सजिलो भयो,’ निर्देशक ढुंगानाले भने । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीको दृश्य पनि उक्त अवसरमा खिचियो ।
केही दिनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि छायांकन हुनेछ । ओलीले यसबारे फेसबुकमार्फत जानकारी दिइसकेका छन् ।
यो सामाजिक कथानक फिल्मको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती, र भक्तपुरमा छायांकन भइसकेको छ । यसैसाता फिल्मको छायांकन सक्ने तयारी रहेको निर्माण नियन्त्रक आरजे प्रणव सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस्