७ मंसिर २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

अर्घाखाँचीको भूमिकास्थानमा आगलागी, १६ घरपरिवारको बिचल्ली

१० वैशाख, अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिए ।

शनिबार लागेको आगोले उनको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि उनलगायत टोलका १६ परिवारको बिचल्ली भएको छ ।

‘घर एक्कैछिनमा खरानी भयो । गाँसबासको टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने’, आँशु झार्दै मल्लले भने ।

स्थानीय गङ्गाबहादुर विकको पनि मल्लको जस्तै पीडा छ । ‘घरमा रहेको गरगहना, अन्न कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भयो’, उनले भने, ‘घरमा रहेका कुनैपनि वस्तु बचाउन सकिएन ।’

बसन्ता र गङ्गाबहादुर मात्र हैन धारापानीमा शनिबार आगलागीमा परेर घर जलेका १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन् ।

आगोले भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायत गाउँमा आगोले १६ घर र १० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिए ।

बस्तीमा पसेको आगो निभाइए पनि वनमा अझै पूर्णरुपमा निभाउन सकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँमै गएर डढेलोले घर गुमाएका परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।

आगलागीबाट घर नष्ट भएका रातामाटा क्षेत्रका १६ परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरिएको बताए ।

आगोले गाउँनै सखाप भएको छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीबाट ४३ घर गोठ जलेर नष्ट भएका छन् ।

शनिबार भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनी गाउँपालिकामा डढेलोले २० घर र २३ गोठ जलेर नष्ट भएका छन् भने ११ बाख्रा र ६ भैँसी मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्