५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

कतार पठाइएको भनी भाइरल हातीको भिडियोको वास्तविकता के हो ?

१३ वैशाख, काठमाडौं । अहिले सामाजिक सन्जालमा हात्ती ट्रकमा चढेको एउटा भाइरल भिडियो नेपालबाट कतार पठाउन लागिएको हात्ती भनेर प्रचारबाजी र सेयर भइरहेका छन् । तर त्यो भिडियो भने सत्य होइन । मंगलबार काठमाडौं आएका कतारका राजा शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएलगत्तै उनीसँगै हात्ती पनि पठाइयो भनेर सामाजिक सन्जालमा गलत प्रचार भइरहे पनि वास्ताविकता भने अर्कै छ ।

कतार पठाउने भनिएका हात्ती भने नेपालमै रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार केही अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया पूरा गर्न बाँकी नै भएकाले ती हात्तीलाई कतार पठाउन केही दिन अझै लाग्ने छ ।

उनले भने, ‘ सामाजिक सञ्जालमा बेकारमा झुटो प्रचार भयो हात्तीको। रूद्रकली र खगेन्द्रप्रसाद हात्ती यही चितवनमै छन्। नेपाल र कतार दुवै साइटिस महासन्धिको पक्ष राष्ट्र भएकाले कतारलाई हात्ती उपहार लेन–देनको सम्झौता गर्नुअघि विश्व संरक्षण संघको अनुमति लिनुपर्ने हुन्छ । अहिले त्यही अनुमतिको प्रक्रिया पूरा गर्न बाँकी छ ।’

यस्तै वन तथा वातावरण मन्त्रायका प्रवक्ता बद्रिराज ढुंगानाले प्राविधिक र प्रशासनिक विषय मिलाउनुपर्ने भएकाले नेपालका हात्ती कतार पठाउन समय लाग्ने बताए ।

उनले वन मन्त्रालयमा सम्झौता पूरा भएपछि मात्रै नेपालबाट हात्ती कहिले पठाउने भन्ने टुङ्गो लाग्ने बताए ।

नेपालले कतारलाई उपहारस्वरुप दिन लागेका हात्ती खगेन्द्रप्रसाद र रुद्रकली हुन् । खगेन्द्रप्रसाद भाले हात्ती हो भने रुद्रकली पोथी हो ।

२०७६ असोज ८ गते कोशीकलीबाट खगेन्द्रप्रसाद र २०७५ असोज २३ गते आमा पूजाकलीबाट रुद्रकलीको जन्म भएको थियो । खगेन्द्रप्रसाद र रुद्रकलीको बाबु भने रोनाल्डो नामबाट चर्चित जंगली हात्ती हो ।

नेपालले मित्र राष्ट्रहरुलाई गैंडा, गोही, ब्याँसो र चितुवा उपहारमा दिए पनि हात्ती दिन लागेको भने पहिलोपटक हो ।

नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैंडा, १० वटा घडियाल गोही, दुईवटा चितुवा र एउटा ब्वाँसो उपहार दिइसकेको छ ।

दुर्लभ वन्यजन्यु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) अनुसार त्यसको ओसारपसारका लागि सम्झौता र साइटिस अनुमति चाहिन्छ । तर हात्ती लेन–देन गर्नका लागि साइटिस अनुमतिपत्र आइसकेको छैन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत कुमार राईले अन्तर्राष्ट्रिय सन्धि सम्झौताका प्रक्रिया पूरा नभएकाले कतारका राजासँगै नेपालबाट हात्तीहरु नपठाएको जानकारी दिए ।

‘हात्ती संरक्षण कूटनीति अन्तर्गत नेपालले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय सरकारबाट त भयो तर त्यसका सबै कानुनी र प्रशासनिक प्रक्रिया मिलाउन बाँकी भएकाले कतारका राजासँगै हात्ती पठाइएको छैन,’ मन्त्रालयका प्रवक्ता राईले भने ।

साइटिस महासन्धि के हो ?

संसारभर फैलिएको दुर्लभ वन्यजन्तु तथा वनस्पति प्रजातिको गैरकानूनी व्यापारको समस्या समाधान गर्न सन् १९७३ मार्च ३ का दिन अमेरिकाको राजधानी वासिङटन डि.सी.मा विश्व संरक्षण संघको संयोजकत्वमा एक अन्तर्राष्ट्रिय सम्मेलन अयोजना भएको थियो ।

तत्कालीन अवस्थामा विश्वका ८० राष्ट्रका प्रतिनिधिहरुले सहभागिता जनाएको उक्त सम्मेलनले दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षणको लागि एउटा अन्तर्राष्ट्रिय महासन्धि तयार गरेर त्यसमा हस्ताक्षर गरेको थिए । सोही महासन्धिलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय ब्यापार महासन्धि (साइटिस)’ नामकरण गरियो ।

साइटिस महासन्धि सन् १९७३ मा पारित भई सन् १९७५ को जुलाई १ बाट कार्यान्वयन हुँदै आएको छ । नेपालले सन् १९७५ मा १२ औं स्थानमा साइटिस महासन्धिको पक्ष राष्ट्र भई काम गर्दै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार यस महासन्धिमा विश्वका १८० देश पक्ष राष्ट्रको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्